‘रामधुनी बधशाला’का उपकरण बिग्रँदा स्वच्छ मासु उपभोग गर्न समस्या (फोटोफिचर)

फोटो फिचर - जेठ २०, २०७५, रामधुनी

प्रति खसि ५ सय तिर्न समस्या : व्यवसायी

राजन भट्टराई / रामधुनी नगरपालिकाको लागतमा झुम्कामा बनेको रामधुनी बधशालाबाट स्थानीयले सफा, ताजा र स्वच्छ मासु उपभोग गर्न पाएका छैनन् ।
गत १६ गते बुधाबार उद्घाटन गरिएको बधशालाको भवन पूर्णरुपमा नसकिँदा अझै केही व्यवसायी भवनमा जान मानेका छैनन् । नगरपालिकाले बधशालावाट बार्षिक २५ लाख राजश्व संकलन गर्ने उद्देश्यसहित ठेकेदारसँग सम्झौता गरेको थियो ।  

उपकरणहरु प्रयोगविहीन
बधशाला भवनमा रहेका अधिकांश उपकरणहरु काम नलाग्ने अवस्थामा छन् । मासु व्यवस्थित, सफा, स्वच्छ बनाउनका लागि राखिएका उपकरणहरु बिग्रँदा प्रयोगमा आएका छैनन् । बधशालाभित्रको उपकरण व्यवस्थीत गर्ने, भवन पूर्णरुपमा सम्पन्न गर्ने लगायतका काम सकेर मात्र उद्घाटन गरेको भए सञ्चालनमा सहज हुने स्थानीयको भनाइ छ । 

प्रति खसि ५ सय तिर्न समस्या 
नयाँ बधशालाबाट व्यवसाय सुरु गर्नासाथ प्रति खसि पाँच सय रुपैया तिर्नुपर्ने हुन्छ । कतिपय व्यवसायीले पाँच सय रुपैंया तिर्दा समस्या हुने बताए । एउटा खसी काटेर बिक्री गरेको पाँच सय तिर्दा आफुहरुलाई फाइदा नहुने उनीहरुको भनाइ छ । मासु बिक्री गर्ने नयाँ बधशालाको भवन निर्माण पुरा नहुँदा पहिलेकै अवस्थामा बिक्रि गरिरहनुपरेको मासु व्यावसायी महमत इनताजले बताए ।

व्यवसायीले नियमविपरीत काम गरे कारवाही
खसि काट्नु भन्दा २४ घण्टा अगाडि चेक जाँच गरि निरोगी खसि मात्र बधशालामा राखिने भएको छ ।
६ महिना पछि पुर्ण रुपमा व्यवस्थापन गरि सफा, ताजा र स्वच्छ मासु  बिक्रि गर्ने नगरपालिकाका योजना शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।  व्यवसायीले नगरपालिकाको नियम बिपरित मासु बिक्री गरेमा नेपाल सरकारको नियम, कानुन अनुसार दण्ड जरिवाना गर्ने चौधरीको भनाइ छ । 
नगरका उपभोक्तालाई स्वच्छ र सफा मासु उपलब्ध गराउने, फोहोर व्यवस्थित गर्ने र जिल्लाका अन्य ठाउँका उपभोक्ताहरुलाई समेत बधशालातर्फ आकर्षित गर्न बधशाला निर्माण गरिएको उनले बताए ।  

चौतर्फी आलोचनापछि हटाइयो नाम
‘रामधुनी बधशाला’ नामप्रति व्यवसायी तथा स्थानीहले असन्तुष्टि जनाउन थालेपछि अहिले नाम हटाइएको छ । अब बधशालाको नाम ‘झुम्का मासु बधशाला’ राखिने भएको ठेकेदार अजय चौधरीले बताए ।
रामधुनी जस्तो पवित्र र धर्मसँग जोडिएको नाम मासु व्यवसायसँग जोड्न नहुने व्यवसायीहरुले माग गरेका थिए । 


प्रति खसी पाँच सय रुपैया ठिकै हो : ठेकेदार
केही व्यवसायीले आफुहरुलाइ महँगो भएको बताएपनि ठेकेदार अजय चौधरी भने यस कुरालाई नस्वीकार्ने बताउँछन् । ‘पहिलेको ठाउँबाट बधशालामा आउने वित्तिकै बिक्रीदर पनि प्रति केजी ५० ले बढाइएको छ ।’ चौधरीले भने, ‘यसरी हेर्दा पाँच सय रुपैँया तिर्न कुनै कठिन हुँदैन ।’
अगाडिको समितिले काम पुरा नगरेपछि आफुहरुले टेण्डर मार्फत काम गरेको उनको भनाइ छ । वार्ड नं. १ को समृयतामा निर्माण गर्न सम्भव भएको उनको भनाइ छ । 
उनका अनुसार पहिलो एक हप्ता निःशुल्क बधशालामा खसी काट्ने र बाहिर बेच्ने काम भइरहेको छ । ‘उपकरण भने केही समय अघि चट्याङका कारण बिग्रीएको थियो’ उनले भने,‘ अहिले मर्मतका लागि काठमाडौंबाट सामानहरु मगाइएको छ, चाँडै मर्मत हुन्छ ।’


     
झुम्कामा रहेको यस बधशालालाई जिल्लाकै उत्कृष्टको रुपमा लिइन्छ । यस अघि मुख्यराजमार्ग छेउमा अव्यवस्थित तरिकाले मासु बिक्री हुँदै आएको थियो । लामो समय पश्चात अब व्यवस्थित बधशाला निर्माण भएको छ । सम्पुर्ण उपकरण सञ्चालनमा आउने, भवन पूर्णरुपमा बन्ने र निरोगी खसीको मासुमात्र बिक्री गर्ने हो भने आफुहरुले स्वच्छ मासु उपभोग गर्न पाउने स्थानीय उपभोक्ताहरु बताउँछन् । 

तस्बिर : बिनोद आचार्य

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।