थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

समाज - फाल्गुन २२, २०७५, बुधबार, दाङ

(खबरबिट) थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए ।

‘ढकिया थारूको पहिचानसँग जोडिए छ’, उनले भने, ‘तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।’ नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान जोगाउनतर्फ कुनै ध्यान नदिँदा लोप हुने अवस्थामा रहेको उनको भनाइ छ । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर ढकिया निर्माण गर्नतर्फ प्रेरित गर्नुपर्ने समेत उनको तर्क छ । 

पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानको रुपमा ढकिया दिने थारू समुदायको चलन रहेको थारू अगुवा रुपलाल चौधरीले बताए । साथै दाङको कुनै औपचारिक कार्यक्रम भए पनि स्वागतका लागि यसको प्रयोग गर्ने गरिएको छ । अतिथिलाई उपहारका रुपमा ‘ढकिया’ दिने चलन पनि रहँदै आएको छ । 

लोप हुन लागेको ‘ढकिया’ को संरक्षणका लागि नयाँ पुस्तालाई यस सम्बन्धी तालीम दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

थारू समुदायको बाहुल्यता रहेको जिल्ला दाङ भए पनि यहाँका थारू समुदायले ढकिया बुन्न छोडेको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारले समेत चासोका साथ हेर्नुपर्ने अर्का थारू अगुवा सीता चौधरीले बताए । 

वनमा पाइने बाँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ । ढकिया लोप हुन थालेपछि यसको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–९ का २१ थारू महिलालाई ढकिया निर्माण सम्बन्धी तालीम प्रदान गरिएको छ । थारू समुदायको कला र पहिचानसँग जोडिएको ढकिया बनाउने काम पछिल्लो समय नयाँ पुस्ताले छोड्दै गएको भन्दै वडा नं ९ को आर्थिक सहयोगमा ढकिया निर्माण तालीम प्रदान गरिएको हो । ढकिया निर्माणको कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाउने तालिममा सहभागी लक्ष्मी चौधरीले बताइन् ।

- रासस

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।