साहित्य र संगीतमा समर्पित रोमु

साहित्य - बैशाख २०, २०७६, शुक्रबार, रामधुनी

शिशिर भट्टराई  ।
धेरै मानिसले रुचि राख्ने भए पनि सबै मानिस साहित्यमा टिक्न सक्दैनन् । जो मानिसमा दृढ इच्छा शक्ति छ । त्यो मानिस मात्र साहित्यमा रहन्छ । साहित्यमा सबै मानिस नटिके पनि असाध्यै मन पराउने गर्दछन् । समाजका हरेक विकृति र विसंगतीप्रति तिखो कटाक्ष ठाउनै साहित्य हो ।

साहित्य यदि बलियो हुने हो भने कलममा ठूलो बल हुन्छ, जसले समाज नै परिवर्तन गर्न सकिन्छ भन्ने मानसिकता बोकेर निरन्तर साहित्य साधनामा समर्पित छन् रोमु अधिकारी । उनका लागि सबैखाले हतियार नै साहित्य हो । 

निकै सानो उमेर देखि नै बासुरी बजाउन पोख्त अधिकारी बहुमखी प्रतिभाका भएका ब्यक्ति हुन । उनी साहित्यमा गजल, गीत र कविता लेख्नुका साथै केही सांगीतिक क्षेत्रमा पनि उत्तिकै पोख्त छन् । उनलाई एक गीतकारको रुपमा पनि लिन सकिन्छ । उनी साहित्यका हरेक विधामा बाँचुञ्जेल नै कलम चलाउने बताउँछन् ।

सानैदेखि हरेक क्रियाकलापमा सक्रिय अधिकारी स्कुल छुट्टिको दिन गोठालो जान्थे र दिन भरी बासुरी बजाउने गर्दथे । भजन, किर्तन र पुराणमा उनी निकै उत्साहित भएर नाच्ने गाउँने र मादल बजाउँने समेत गर्थे । पछि झुम्कामा आएर नमस्ते झुम्का युवा क्लबमा उनी आबद्ध भए । जुनबेला उनी साहित्य लेख्न सुरु गरिसकेका थिए । 

साहित्य क्षेत्रमा धेरै कलम चलाए पनि उनले कुनै संग्रह भने प्रकाशित गरेका छैनन् । संग्रह निकाल्दा उनका करिब ५ वटासम्म बन्न सक्छन् । धेरै साथीहरुलृ अपेक्षा र अनुरोध गरेकाले पनि उनी एउटा संग्रह प्रकाशित गर्ने सोचमा छन् । ‘म विद्यार्थी नै हुँ, पुस्तक निकाल्न कुनै हतार छैन,’ उनी भन्छन्, ‘बिस्तारै निखारिँदै, अझ सिक्दै पुस्तक निकाल्दा राम्रो हुन्छ ।’ 
वि.सं. २०३१ साल चैत्र २९ गते रामधुनीका सिंगियामा जन्मिएका अधिकारी लामो समय बैदेशिक रोजगारीमा पनि बसे । करिब १० बर्ष बैदेशिक रोजगारीमा बिताएको उनी बताउँछन् । साहित्यमा रुचि हुँदाहुदै पनि बैदेशिक रोजागारीमा गएका उनले त्यहाँ बस्दा पनि धेरै गजल र गीतहरु लेखे । अति नै ब्यस्त समयका बाबजुत काम गर्दै गर्दा कहिले काटुनका टुक्रामा त कहिले टिस्यु पेपरमा लेखेको उनी सम्झन्छन् । करिब ५ सय गजलहरु अहिले पनि उनको कोठामा छन् । 

उनले गजल, कविता मात्र लेखेनन् धेरै गीत पनि लेखे । अधिकारीका ६ ओटा गीत सार्वजनिक भइसके । ३ ओटा रेकर्डिङको चरणमा छ । नेपाली चलचित्र ब्याड ब्वायमा उनको शब्द र गायक दिपक लिम्बुको स्वरमा ‘छड्के त्यो नजरको हेराइ नै मिठा’ बोलको गीत निकै चर्चित बन्यो । उनको शब्द र ऋतिका जिरेलको स्वरमा सजिएको तीज गीत पनि निकै चर्चित छ । ‘यसपालीको तिजमा संगी जाउँन पोइला ओइ, ब्रत बसौँ भने पनि छैन मेरो कोहि ब्रत बसे पाइन्छ रे मन मिल्ने पोइ’ बोलको गीत तीजमा निकै रुचाइएको थियो । 

उनले लेखेको ‘घरमा गर्ने माया मेरो घरकै खालको हो’ बोलको दाहोरी गीतले पनि निकै चर्चा पायो । धेरै माया प्रेममा साहित्यिक रचनामा कलम चालाएका उनी अहिले पनि व्यस्त छन् । बेलाबेलामा उनका राष्ट्रिय भाव झल्किएका रचनाहरु पनि देख्न पाइन्छ । साहित्य सिर्जनामा नै लागिरहने अठोट बोकेका अधिकारी अब सरकारले साहित्यिक वातावरण बनाइदिनु पर्ने बताउँछन् । आफ्ना लागि भन्दा पनि साहित्यमा रुचि राख्ने पछिल्लो पुस्तालाई यदि गरिखाने वातावरण सरकारले बनाइदिने हो भने मात्र साहित्य राम्रो हुने थियो ।

साहित्य एउटा यस्तो हतियार हो । जसले समाजलाई बलियो बनाउने गर्दछ । सामाजिक कुरिती र विकृतीको कटाक्ष गर्ने साहित्य जस्तो हतियार यदि आझेलमा पर्ने हो भने त्यो समाज र राष्ट्रका लागि ठूलो दुर्भाग्य हुने र त्यसले नेपाली भाषा नै संकट पर्ने उनी बताउँछन् ।
 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।