सर्वस्व मेरी तिमी (खण्डकाब्यको अंश)

साहित्य - जेठ २८, २०७६, मंगलबार, रामधुनी

मेरो शिक्षक ज्ञान कर्मपथ त्यो हाँक्ने सदा– दर्वदा । 
मेरो पावन तिर्थ जाह्नवि तिमी कोसी तिमी नर्वदा । 
कल्ले तार्छ मलाई हाय जननी फर्की नआए तिमी । 
मेरो जीवन प्राण फर्क जननी सर्वस्व मेरी तिमी । 

हौ धन्वन्तरि रोग नष्ट गरने मेरो सबै नै तिमी । 
मेरो बैध सुषेण जीवन दिने सञ्जीवनी हौ तिमी ।
मेरो दुःख र कष्टहेरु हरने हौ ओखती नै तिमी । 
मेरो जे छ यहाँ सबै चिज तिमी सर्वस्व मेरी तिमी । 

मेरो कर्म गुरो अनन्त पथकी कर्तब्यकी नायिका । 
स्रष्टाको विधि सृष्टि सिर्जनकला की एक संरक्षिका । 
कल्ले गर्दछ सृष्टिको अब यहाँ संरक्षणै लौ तिमी । 
छोडी आज गयौ भने सब गयो सर्वस्व मेरी तिमी । 

मेरो मित्र सखा सदैव हितमा खुल्ने सदा सर्वदा ।
मेरो अन्तर भावभित्र दिलको बुझ्ने कथा औ व्यथा । 
कल्ले बुझ्दछ आजदेखि दिलको मेरो कथा त्यो पनि ।
फर्कि आउ न हाय जननी सर्वस्व मेरी तिमी । 

मेरो भूल कसुर हर्दम यसै सक्थ्यौ तिमी बिर्सन । 
आमा आज कता गयो सरल त्यो तिम्रो दयाको मन ।
मेरो यो मन रुन्छ रुन्छ जननी बोल्दै नबोले तिमी ।
मेरो जिवन प्राण फर्क जननी सर्वस्व मेरी तिमी । 

हे मेरी विधि सृष्टि सिर्जनकला आमा जरा जीवमा । 
खुल्ने शास्वत शब्द हौ जगतकी आमा तिमी एक याँ । 
कैल्यै भैँन समर्थ जान्न जननी त्यो रुप तिम्रो पनि ।
जान्नै हाय भए छ देर जननी सर्वस्व मेरी तिमी । 

आमा हे  शिवशक्ति रुम जननी सन्तानका खातिर ।
गछ्यौ कर्म अनेक कष्ट सहँदै बन्दै बडो आतुर ।
कल्ले सक्छ बखान गर्न जननी सम्पूर्ण तिम्रो पनि ।
आमा आज गयौ सबै चिज गयो सर्वस्व मेरी तिमी ।

आमा आज घर छ शून्य किन यो वात्सल्यता रित्तियो ।
माया और दया रहेन जननी धिकार यो के भयो ?
कैल्हेकाँहि त स्वर्गबाट जननी आए नी हुन्थ्यो तिमी । 
आउन्नौ किन आज हाय जननी सम्झेर कल्यै पनि ।

फर्कन्छन् गँुडमा चरेर बचरा सम्झेर पन्छीहरु ।
फर्कन्छन् परदेशबाट घरमा सम्झेर यात्री बरु ।
फर्कन्यौ किन आज हाय जननी सम्झेर आफ्नो घर ।
हेर्दैछौ सब झ्यालबाट टुहुरा आमा बन्यौ निष्ठुर । 

आमा साथ हुँदा सबै चिज थियो आनन्द मिल्दो कति ।
छैनौ आज तिमी हुँदो छ फजिती मेरो भयो दुर्गति ।
हेरी कष्ट र दुर्गति र फजिती बस्छ्यौ कसोरी तिमी ।
सम्झी फर्कन एकपल्ट जननी सर्वस्व मेरी तिमी । 
 

(साहित्यकार इस्वरप्रसाद न्यौपानेको आमा स्मृति खण्डकाब्यबाट) 


 

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।