रामधुनीमा पारदर्शिता नभएको गुनासो ; सार्वजनिक सुनुवाई विना बर्ष बित्यो 

स्थानीय - श्रावण १२, २०७६, आइतबार, रामधुनी

शिशिर भट्टराई
रामधुनीको स्थानिय सरकारले सार्वजनिक सुनुवाइ नगरी बर्ष बिताएको छ । स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा प्रश्न उठिरहेको बेला जवाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइबाट रामधुनीको स्थानिय सरकार पछि हटेको पाइएको छ । 
स्थानीय तहको पुनःसंरचनाअघि चौमासिकरुमा सार्वजनिक सुनुवाइ गर्दा अहिले सार्वजनिक सुनुवाइ कहिले गर्ने कति पटक गर्ने भन्ने विषयमै अन्योलता देखिएको छ । तर बर्षमा २ पटक अनिवार्य सार्वजनिक सुनुवाई गर्नुपर्ने हो । कर्मचारीले मात्र स्थानिय तह संचालन गर्दा केहि हदसम्म पारिदर्शिता रहेतापनि अहिले जनप्रतिनिधि आइसकेपछि जवाफदेहिता सकिएको रामधुनीका स्थानियको गुनासो छ । 
अघिल्लो आर्थिक वर्षमा केहि वडाले सार्वजनिक सुनुवाई गरेको भएतापनि नगरले भने सार्वजनिक सुनुवाई गरेको थिएन । अघिल्लो बर्ष वडामा गरिएको सार्वजनिक सुनुवाई पनि कर्मकाण्डी जस्तै भएको थियो । सार्वजनिक सुनुवाई गरेर सेवाग्राहीले उठाएका विषयलाई सुनुवाई गर्ने, समस्या समाधान गर्ने काम भएकै छैन ।
रामधुनीको स्थानिय सरकार र त्यसभित्रका केहि वडाहरुले उपभोक्ता समिति विनानै आफुखुसी काम गरेको, बिभिन्न ठाउँमा चित्तबुझ्दो खर्च नभएको जस्ता प्रश्न स्थानियले मात्र होइन राजनितिक दलका नेताहरुले पनि उठाइरहेका छन् । 
रामधुनीको बजेट सार्वजनिकिरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का रामधुनी अध्यक्ष राम कोइरालाले नगरभित्र सबै ठाउँमा समान हिसावले चित्तबुझ्दो काम नभएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । त्यस्तै नेपाली काङ्ग्रेस रामधुनी नगर कार्यसमितिका सचिव दिलबहादुर राइले पनि सामाजिक सञ्जालमा नगरले चित्तबुझ्दो काम नगरेको र बिभिन्न ठाउँमा अनियमितता भएको आसयको कमेन्ट लेखेका थिए । 
यसरी सर्वसाधरण देखि स्वय सत्तासिन दलका नेताहरुले रामधुनीको स्थानिय सरकारको पारदर्शिता र जवाफदेहितामा प्रश्न उठाइरहदा जनप्रतिनिधिहरुले जनमतको ब्यवास्ता गर्दै सार्वजनिक सुनुवाई नगर्नु र जनताको प्रश्नबाट भाग्नु चरम ब्यतिथिको पराकाष्ठ भएको सरोकारवालाहरुले आरोप लगाएका छन् । 
लामो समय सुशासन क्षेत्रमा क्रियाशील रामधुनीका एक ब्यक्तिले पारदर्शिताको अभ्यास गर्ने अधिकार स्थानीय सरकारलाई भए पनि त्यसो नगरेको बताए । ‘सार्वजनिक सुनुवाई भनेको सेवाग्राहीलाई सँगै राखेर सेवाप्रदायक र सेवाग्राहीबीच गरिने संवाद, छलफल र अनुभव आदानप्रदान गर्ने प्रक्रिया पनि हो, त्यस्तो अभ्यास धेरै भएको पाइँदैन, तर यस्तो अभ्यास बिना दिगो बिकासको परिकल्पना गर्न सकिदैन, स्थानिय सरकार सञ्चालन गर्ने साथिहरुले नबुझेको हो की बुझपचाएको हो वा सत्ताको मात हो जस्तो पो लाग्न थाल्यो’, उनले भने ।
स्थानीय तहलाई पारदर्शिता र जवाफदेहिताका लागि शुसासन कार्यविधि बनाएर लागू गर्ने पर्याप्त अधिकार भए पनि ब्यक्तिगत र पार्टीगत स्वार्थको पछाडी लागेर काममा अनियमितता गर्ने र जनतालाई झुक्याएर अगाडी बढ्ने दाउमा स्थानिय सरकार र जनप्रतिनिधिहरु लागिपरेको पाइएको छ । 
उता सार्वजनिक सुनुवाइका बिषयमा बुझ्दा रामधुनीका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले के कारण सार्वजनिक सुनुवाई भएन भनेर आफुले भन्न सक्ने अबस्था नभएको र यसको कारणबारे नगरमा छलफल गरेर जवाफ दिने बताए । उनले भने ‘ म आज बाहिर छु । हुनुपर्ने हो तर के कारण सार्वजनिक सुनुवाई भएन म आफै कारण बताउँन सक्दिन मेयरसाव सँग पनि छलफल गरेपछि मात्र कारण बताउला ।’ 
त्यस्तै वडा नं ५ का अध्यक्ष डेगराज फुयालले भने समय अभावका कारण सार्वजनिक सुनुवाई नभएको हुनसक्ने बताएका छन् । खबरबिट सँग टेलिफोन कुराकानीमा उनले बर्षमा २ पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने भएतापनि गर्न नसकिएको स्वीकार गरे । ‘ किन भएन भन्नेबारे यसै हो भन्न सक्ने अबस्था छैन । तर मेरो बिचारमा समय अभावले हो की जस्तो लाग्छ । काम गर्दै जादा भ्याइएन ।’ उनले भने ।
उता मेयर जयप्रकास चौधरीले भने हुँदै नभएको सार्वजनिक सुनुवाई भइसक्यो भन्ने हास्यादपद र लज्जासपद जवाफ दिएका छन् । मेयरसाव ! के कारण सार्वजनिक सुनुवाई भएन बुझ्नलाई फोन गरेको भन्ने प्रश्नमा ‘ बजेट आइसक्यो , बजेट सार्वजनिकरण कार्यक्रममा सबैलाई बोलाएको हो । त्यो भन्दा अगाडि नै सार्वजनिक सुनुवाइृ भइसक्यो नि । अब कहाँ बजेट आइसकेपछि सार्वजनिक सुनुवाईको कुरा आउँछ त अहिले ।’ टेलिफान सम्पर्कमा उनले भने ।  

सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्यले सलेदो मिडिया प्रा.लि.द्धारा यस अनलाइन समाचार पत्रिका खबरबिट डटकमको सुरुवात गरिएको हो । देश संघियता तर्फ जाँदै गर्दा र देशले स्थानीयसरकार पाइसकेको अवस्थामा खबरदारी गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती विरुद्ध झकझक्याउने काम खबरबिटले गर्नेछ     ।।।    यहाँहरुसँग भएका समाचार, समाचारमुलक जानकारी, लेख रचना, विचार आदी हामीलाई पठाउनुहोला । हामी उचित स्थान दिनेछौ । हामीसँग जोडिन फेसबुक पेज लाइक गर्नुहोला । धन्यवाद ।।।