काठमाडौं । अभिनेत्री बसुन्धरा भुसाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् ।
विशेषत संघ संस्थाको वृद्धि विकास र चलचित्रकर्मीको सेवा सुरक्षाका लागि निरन्तर खटिरहने भुसाल चलचित्र विकास बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत हुन् ।
स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफुलाई व्यस्त बनाउने गरेकी छन् । राष्ट्रिय कार्यक्रमदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म भुसालले कोषको लागि सहयोग जुटाउँदै आएकी छन् । हाल कोषमा चार करोड भन्दा बढी रकम जम्मा भएको छ । यसमा सबैभन्दा बढी भूमिका अभिनेत्री भुसालकै रहेको छ ।
कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरिया सहयोग गर्ने लगायतका सेवा वितरण गर्दै आएको छ ।
सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी छन् । आफ्नो पारिवारीक भेटघाट र घुमघामको लागि ६ महिना अघि अमेरिका पुगेकी अभिनेत्री भुसालले चार लाख भन्दा बढी रकम संकलन गरेर ल्याएकी छन् ।
बुधबार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख २० हजार रुपैयाँ भन्दा बढी रकम हस्तान्तरण गरेकी हुन् ।
उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् । सोही रकम उनी नेपाल आउने बितिकै बोर्डलाई हस्तानतरण गरेकी हुन् ।
यस्तै नायक पल शाहले पनि एक लाख एक सय एक रुपैयाँ दिने घोषणा गरेका छन् । भुसालको यो समर्पणप्रति सम्पूर्ण अमेरिकावासी चलचित्रकर्मी नतमस्तक रहेको समेत अभिनेत्री पुजा चन्द लामाले बताएकी छन् ।