तिमी आइसक्यौ रे
तल झुमाको पसलमा
सुन्छु,
यता नि आउदैछ्यौ रे ।
म हेर्दैछु
टोलाएर,
कुन बाटो आउने हो तिमी
झ्याल कि ढोकाबाट ?
आलु कि प्याज
कि चिनी, चामलबाट
भन न, के बाट आउछ्यौ ?
***
उता गाउँमा बा
बिहानै औला ठड्याउँदै
भन्दैछन् रे,
के हो यो? कतै देखिन्न त
तर सबलाई अत्याइसक्यो,
काका,
खुकुरीमा धार लाउँदै
भन्दैछन् रे,
एक छाक पार्छु, कहाँ छ त्यो ?
यता म मनमनै सोच्दैछु
यसलाई ओसार्ने को हो ?
***
प्रिये,
तनावग्रस्तै छ जिन्दगी
यस्तोमा पिरती झाङ्गिन्छ कसरी ?
अनि,
सँगै जिउने कसरी ?
***
प्रिये,
भिडाई चर्को हुने भो महङ्गीसँग
जुन तिमीसँग हुन्थ्यो बेला बेला ।
तर,
राइफलबाट निस्केको गोलीको दर्द
त के दर्द साइली,
महङ्गीको दर्द अति भो यता
तिम्रो तिर के छ ?
***
तिमीलाई भित्राउने कि
भित्रिएको महङ्गीलाई स्वागत गर्ने ?
दोधारमा छु प्रिये,
बिन्ती छ, केही समय पर्ख,
महङ्गीसँग भिड्नु छ
लड्नु छ यो पालि ।