साथी,
मलाई गितार मन पर्छ ।
गितार मात्र हैन,
त्यसको कर्डमा सलबलाएका उनका सुकमोल औलाहरू पनि मनपर्छ ।
जसमा,
मेरा औलाहरू अकंमाल गर्दै,
सलबलाउँ भन्छन्,
हराउँ भन्छन् ।
***
साथी,
मलाई देश गाउन मन लाग्छ ।
गितारका तालसँगै झन्किएका उनका सुरहरूमा,
सुसेली हाल्न मन लाग्छ ।
पाखा पखेरी अनि बस्तीका कहानीहरू सबै,
गुनगुनाउन मन लाग्छ ।
***
तर साथी,
पाखा पखेरीमा फूल फूल्न छाडेछन् ।
बस्तीका ति झुपडीहरुमा पिडा बल्न थालेछ ।
आँशुसँगै,
दुःखले सुस्केराहरू हाल्न थालेछन् ।
म छट्पटिन्छु ।
***
साथी,
कहिलेकाही मलाई गितारसँग डाहा लाग्छ ।
रिस पनि उठ्छ,
घनघोरै ।
उधिनिदिउँ जस्तो लाग्छ,
च्यातिदिउँ जस्तो लाग्छ,
ति कर्डका तारहरू ।
अनि बसौ झै लाग्छ गितारजस्तै गरि,
उनका काख अनि छातिमा ।
अनि कल्पिन मन लाग्छ
सुख, शान्ति र समृद्धि ।
रेवत श्रेष्ठ