सुनसरी । रामधुनी नगरपालिकाले बजार व्यवस्थापन सम्बन्धि जारी गरेकाे सूचना कार्यान्वयन नभएपछि नगरपालिकाकाे टाेली बजार अनुगमनमा निस्किएकाे छ । बिहीबार नगरपालिकाको अनुगमन टोली झुम्का बजारमा देखिएका हुन् ।
रामधुनी नगरपालिकाले १५ दिने सूचना प्रकाशन गर्दै व्यवस्थापनका लागि पटकपटक माइकिङ्ग गर्दासम्म बजारको अवस्था हालसम्म अव्यवस्थित भएकै कारण आज अनुगमनमा बजार क्षेत्रमा आएको अनुगमन टोलीकी संयोजक तथा नगर उपप्रमुख तारा थापाले जानकारी दिइन् ।
लामो समयदेखि भएको अव्यवस्थित बजारलाई व्यवस्थापन गर्न रामधुनी नगरपालिकाले यस्तो कदम चालेको नगरउपप्रमुख थापाको भनाइ छ । खबरबिटसंग कुराकानी गर्दै उपप्रमुख थापाले नगरपालिकाले पौष १ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नभएका कारण नगरपालिकाले बजारको अनुगमन गर्नुपरेको बताइन् ।
‘हामीले सूचना जारी गर्याैंं तर कार्यान्वयन नभएपछि हामी नगरपालिकाका टोलीनै बजारमा अनुगमन गर्नुपरेको हो । माइकिङ्ग समेत गर्याैं,’ उनले भनिन्, ‘अब हामी अन्तिम पटक भन्छौ । त्यसपछि पनि अटेर गरेको पाइएमा कारबाही प्रकृया अगाडि बढाउछौं ।’
अनुगमनका क्रममा नगरपालिकाका तर्फबाट नगर प्रमुख शंकरलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, प्रशासन शाखा प्रमुख विनय कुमार परियार, पशु शाखा प्रमुख दुर्गा प्रसाद पराजुली, वडा नं. १ का वडाध्यक्ष महेश कुमार चौधरी, वडासदस्य रामभरौसी रौनियार, झुम्का प्रहरीबिटका प्रहरी सहायक निरिक्षक हरि बहादुर क्षेत्री, झुम्का उद्योग बाणिज्य संघका दुर्गा फुयाल, ५ नं. वडा सदस्य अजित श्रेष्ठ र स्थानिय पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
रामधुनीको लगौना चौक, झुम्का बजारक्षेत्र, हाटबजार क्षेत्र हुँदै, झुम्का बधशालासम्म अनुगमन भएको थियो । अनुगमनको समयमा उक्त टोलीले मुख्य राजमार्ग क्षेत्रमा भएका अव्यवस्थित बजारलाई हाटबजार तथा सुनसरी मोरङ्ग सिचाई आयोजनाको उत्तर–दक्षिण क्षेत्रमा व्यवस्थित तवरले व्यापार गर्ने बैकल्पिक स्थानका साथमा अनुगमन गरेको थियो ।
उक्त समयमा देखिएका अव्यवस्थित व्यापार व्यवसायलाई थप एक दिनसम्मको समयसिमा थप गर्दै शुक्रबारसम्ममा बैकल्पिक व्यवस्था गर्न नगरपालिकाको अनुगमन टोलीले व्यवसायीहरुलाई अन्मित समयसिमा दिएको थियो ।
करिब ३ घण्टासम्म भएको अनुगमनमा देखा परेका थप व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने टोलीको भनाइ छ ।
सम्बन्धित समाचार :-
अव्यवस्थीत व्यापार बन्द गर्न नगरपालिकाद्वारा १५ दिने सुचना जारी (सूचनासहित)