सुनसरी । इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज भएको सेमिफाइनल खेलमा मधेश प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशले फाइनलमा स्थान सुरक्षित गरको छ ।
कविता कुँवर र कप्तान बिन्दु रावलको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १ सय १४ रनले पराजित गरेको छ ।
इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा आज भएको खेलमा ९४ बलमा १ सय २८ रनको किर्तिमानी ओपनिङ साझेदारी गर्दै सुदुरपश्चिमले मधेश प्रदेश समक्ष १ सय ८१ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा कुल ६६ रन मात्र बनाउन सफल रहयो । जसका लागि मधेश प्रदेशकी प्रतिमा शाह सर्वाधिक १९ रनमा आउट हुँदा सिमा कुँवरले १६ रन बनाउन सफल रहित । त्यस्तै अलिशा यादवले १४ रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान दुई दुई तथा कविता कुँवर,रितु कनौजिया र स्नेहा महराले समान एक एक विकेट लिएका छन् ।
पहिलो इनिङ्गमा ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक किर्तिमानीसहितको अर्धशतक बनाउन सफल रहे । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाउन सफल भइन् । त्यस्तै सुदुरपश्चिकी कविता जोशी १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर आउट भईन् ।
उक्त सेमिफाइनल खेलमा मधेश प्रदेशले अतिरिक्त १८ रन दिएको थियो । मधेशका लागि भुमि सिंह र साना प्रविनले समान एक एक विकेट लिए ।
यस पश्चात सुदुरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ भने दोस्रो सेमिफाइनल खेलमा प्रदेश १ र नेपाल एपीएफ क्लबका बीचमा हुदैछ ।