रामधुनी । पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । नेपालकको प्रमुख धार्मिक स्थल मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व छ ।
जंगलको बीचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरु आउने गर्दछन् । यसका साथै सो क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउनका लागि योजना समेत अघि बढाइएको छ । विगतको दिनका तुलनामा अहिले मन्दिर जाने तिर्थालु भक्तजनहरुले परिवर्तनको महशुस गर्न सक्छन् । पछिल्लो ३/४ वर्ष यता मन्दिरमा निक्कै परिवर्तन तथा विकास भएका छन् ।
रामधुनी नगरपालिका वडा नं. ४ मा पर्ने रामधुनी मन्दिरकाे व्यपस्थापन र विकास निर्माणका काम हाल रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीले गरिरहेको छ । हाल भइरहेका सम्पुर्ण कार्यहरुमा यस समितीको महत्वपुर्ण भूमिका छ । विभिन्न समयमा लाग्ने मेलाहरुको आयोजकको रुपमा रहेर यस समिती नै भक्तजनहरुको सेवामा खट्ने गरेको छ ।
समितीका अध्यक्ष रहेका डिल्ली कार्कीकै नेतृत्वमा रामधुनी मन्दिर क्षेत्रमा विकासका कामहरु भइरहेको छ । कार्कीकै पहलमा केही वर्ष अघि गौशालाको समेत स्थापना भएको थियो । त्यस्तै मन्दिर नजिक रहेको सुनसरी खोला किनारमा मुक्तिघाट निर्माण, शिव मन्दिर निर्माण, परेवालाई बासस्थानका लागि गञ्ज, पोखरीलगायत मन्दिर परिसर सरसफाई विकास निर्माणका कामहरुका साथै विद्युत पुर्याउन, बाटो निर्माणमा पहल गर्न पनि यही संस्थाको भूमीका महत्वपुर्ण छ । गौशाला निर्माण गर्दा ४ वटा गाइबाट सुरु गरिएकोमा हाल ५० वटा भन्दा बढी गाइ गौशालामा पालिएको छ । पछिल्लो समय समितिले जङ्गलका जडिबुटी खाएका गाईहरुको गहुत प्रशोधन गरेर अर्घ्य बनाउन सुरु गरेको छ ।
सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब ११ किलोमिटर उत्तर र झुम्का बजारबाट करिब ९ किलोमिटर पुर्वमा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल छ । त्रेतायुगदेखि जल्न सुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै मात्र नभएर नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ ।
राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको छ ।
हेरौं, खबरबिटका आर.बी.कट्वालले कैद गरेका केही तस्बिर ।