बाबुराम कार्की । बराहक्षेत्र (चियाबारी) : सुगम जिल्ला सुनसरीको दुर्गम गाँउ बराहक्षेत्र नगरपालिका वार्ड नंं. १ मा पर्ने चियाबारी गाँउका स्थानीय कृषक तीन दशक देखि बेसार सँग चामल साट्दै आएका छन् । चियाबारी गाँउ भौगोलिक विकटताले गर्दा पछि परेको छ । धरान बाट एक घण्टाको यात्रा र चतराबाट एक घण्टाको गाडीको यात्रापछि पुगिन्छ चियावारी ।
यस क्षेत्र डाँडाकाडा भएकाले धान, मकै लगायतका अन्नहरु उत्पादन अत्यन्तै कम हुने गरेको छ । यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरु दुई दशकभन्दा अगाडिदेखि बेसार खेति गर्दै आएका छन् । स्थानीयहरु बेसार, अम्लिसो, अदुवाखेति गरेर जिविको चलाउदै आएका छन् । चियावारी वासीहरु भन्छन् ‘सुनसरी लाई सबैले सुगम जिल्ला भन्छन् तर, हाम्रो पीडा हामीलाई मात्र थाहा छ ।’
चियावारीका कृषकहरुले रोपेको आठ महिनामा उत्पादन दिने खेतिबाट जीविपार्जन गरिरहेका छन् । ‘हामीले चैत, बैशाखमा रोपेको बेसार पुस, माघमा खन्न तयार हुन्छ,’ स्थानीय तपेन्द्र राईले भने, ‘त्यही बेसार बेचेर चामल किन्ने गरेका छौँ ।’

पानीको राम्रो व्यवस्था नहुँदा स्थानीयहरुले मौसमी र बेमौसमी जातका तरकारी खेति गर्न पछि परिरहेको छन् । ‘पानीको व्यवस्था नहँुदा तरकारी खेति गर्न गह्रो भएको छ । यहाँको प्रमुख बाली भनेकै बेसार खेति हो ।,’ स्थानीय कृषक राई भन्छन्, ‘बेसार फले घर चलाउन सजिलो हुने, बेसार कम फले घर चलाउनै समस्या पर्छ ।’
तपेन्द्रले यस वर्ष १ विघाह १० कठ्ठा क्षेत्रफमा लगाएको बेसार, अम्लिसो, अदुवा खेतिबाट १ लाख रुपैयाको बिक्री गरेका छन् । चियावारीका स्थानीयहरु पहिला मकै, कोदो रोपेर जिविको चलाउँदै आएका थिए । पछि अदुवा, बेसार लगाउन थालेपछि दैनिकी गुजारा सहज भएको विकासले बताए ।
एउटै बारीमा एउटै खेती गरिरहँदा कम फल्दो रहेछ । बेसारसँगै मकै लगाएर घुसुवा वालि लगाउँदै आएको अर्का कृषक दीपक राईले बताए । ‘बेसार खन्ने बित्तिकै बिक्री हुँदै,’ उनले भने, ‘त्यसलाई उसिनेर सुकाएपछि र धुलो बनाएपछि मात्रै बिक्रीको लागि तयारी हुन्छ ।’
हुडेप नेपाल सुनसरीको आयोजना तथा युएनडिपिको सहयोगमा सञ्चालित वेसार खेति, अम्लिसो खेति र भुक्षय नियन्त्रण गर्न स्थानीयहरुलाई तालिम दिएपछि थप खेति गर्ने प्रविधिहरुको जानकारीले सहयोग पु-याएको कृषक दिपक राईले वताए । थोरै कृषकले मात्र उन्नततरिकाबाट खेति गर्दै आएका थिए । गाउँमै आएर कृषक लाई प्रयोगात्मक रुपमै सिकाए पछि कृषकहरु उन्नत तरिकाले खेति गर्न थलेका हुन् ।

बेसार खेतिसँगै अम्लिसो खेति तालिम दिएपछि किसानहरु व्यवसायिक अम्लिसो खेति गर्न थालेका हुन् । किसानहरुले बारीको कान्लामा अम्लिसो रोपेर राम्रो आम्दानी लिँदै आएका छन् । किसानहरुले उत्पादन गरेको बेसार, अम्लिसो, तरकारीहरु धरान, चतरा लगेर विक्रि गर्दै आएका छन् ।
किसानहरुले उत्पादन गरेका सबै बस्तुहरु रसायिनिक मल र विषादी रहित खेति गर्दै आएको कृषक अर्जुन राईले बताए ।