सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा हत्या तथा आत्महत्याका घटना बढ्दै गइरहेको छ । त्यस्तै आइतबार बराहक्षेत्र ७ देबिघाट बस्ने एक युवक र युवतीले बराहक्षेत्र ८ ठाकुरबारी नजिकको कोशी नदीको किनारमा हाम्फालेका छन् ।
हामफाल्नेमा बराहक्षेत्र नगरपालिका- ७ देबिघाट बस्ने १४ वर्षीय किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षीय पारश लिम्बु रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो किशोरीको शव पानीमा तैरिरहेको अवस्थामा देखेपछि माछा मार्ने व्यक्तीले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । उक्त स्थानमा प्रहरी पुग्दा युवतीको शव पानीमा तैरिरहेको इलाका प्रहरी प्रमुख सरण दाहालले बताए ।
खोजी गर्ने क्रममा कोशी किनारमा २ वटा मोबाइल, २ जोर चप्पल, एउटा बोत्तल र चुरोट भेटिएको दाहालले बताए । पछि सशस्त्र प्रहरी बल चतराले किशोरीको शव भेटिएको स्थानभन्दा ६ सय मिटरको दुरीमा युवकको शव भेटिएको सशस्त्र प्रहरी बल चतराका प्रमुख असोक न्यौपानेले बताए ।
प्रहरी स्रोतका अनुसार समाजले स्वीकार नगर्ने डरले कोशीमा हाम्फालेको हुन सक्ने बताइएको छ । मृतक दुवैको शवलाई पोष्टमाष्र्टमका लागि बि पि विज्ञान प्रतिष्ठान धरान पठाइएको न्यौपानेले बताए ।
उनीहरु आइतबार दिउँसोदेखि घरबाट हराएका थिए । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
यस अघि पनि इटहरीका एक युवकले प्रेमिकाकाे अन्तै विवाह भएकाे भन्दै काेशीमा फाल हानेका थिए ।