बराहक्षेत्र । दुबै मृगौला खराब भएर उपचाररत बराहक्षेत्र ५ का निरोज अधिकारीलाई जगन्नाथ डेडराज जनता मा.वि.का पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
वि.सं.२०६३ सालका एस.एल.सी. समूहले शुक्रबार अधिकारीको घरमै पुगेर उनको परिवारलाई ६३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
ज्वरोको समस्या भएपछि उनलाई साउन ३ गते उपचार गर्न विराटनगरमा रहेको नोबेल मेडिकल कलेज हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा अधिकारीको दुबै मिर्गौला खराब (फेल) भएको चिकित्सकले बताएका थिए ।
हाल सोही अस्पतालमा उपचारत अधिकारीलाई उपचार गर्न धेरै ठूलो धनराशि खर्च हुने भएपछि अहिले देश बिदेशबाट आर्थिक सहयोग संकलन अभियान समेत सञ्चालन भएको छ ।
अहिलेसम्म विभिन्न देशबिदेश लगायतबाट करिब ४ लाख २० हजार रुपैयाँ सहयोग आइसकेको उनको परिवारका सदस्य लक्ष्मी रेग्मीले बताए । उनका अनुसार अहिलेसम्म करिब एक लाख ६० हजार रुपैयाँ खर्च भएको छ । १५ दिन हस्पिटलमा लगातार बसेको र अहिले घरबाटै साताको दुई पटक डाइलासिर गराइरहेको उनले बताइन् ।
अहिले अधिकारी हल्का बोल्ने सक्ने र केहि हिँडडुल गर्न सक्ने अवस्थामा रहेका छन् ।