प्रकाशपुर : सुनसरीको बराहक्षेत्र १० प्रकाशपुरमा रहेको लालीगुराँस कृषि सहकारी संस्थाको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।
भदौ २० गते भएको निर्वाचनबाट सञ्चालक र लेखा सुपरीवेक्षकमा बस्नेतसहित १२ जना निर्वाचित भएका हुन् । संस्थाको २१ औं वार्षिक साधारणसभामा सञ्चालक लेखा सुपरीवेक्षक समितिको लागि भएको चुनाबबाट अध्यक्षमा बस्नेत, उपाध्याक्षमा हरिनारायण चौधरी, सदस्यहरुमा इन्दिरा सिक्देल, गंगाकुमारी खड्का थापा, सुनिता खड्का बस्नेत, नगेन्द्रबहादुर कार्की, चेतन खड्का, बाबुराम कार्की र सुर्यबहादुर श्रेष्ठ रहेका छन् ।
सामाजिक दुरी कायम गरी भएको निर्वाचनमा लेखा सुपरिवेक्षकको संयोजकमा निरकुमार कट्वाल निर्विरोध निर्वाचित भएका थिए । सदस्यमा अनिल राई र मेघराज दाहाल विजय भएका हुन् ।
निर्वाचित भएका समिति लाई निवार्चन समितिका संयोजक सुर्यबहादुर माझी र सदस्य द्वोय जयप्रसाद अचार्य र टिकाबहादुर कट्वालले सोमबार निर्वाचन भएका सञ्चालक र लेखा सुपरिवेक्षकको निर्वाचित भएको प्रमाण पत्र वितरण गरेको निर्वाचन संयोजक सुर्यबहादुर माझीले जानकारी दिए ।
सबै निर्वाचित सञ्चालकहरुले चाडै हुने संस्थाको साधारण सभामा सपथ ग्रहण लिने निवर्तवान अध्यक्ष छविकेशर प्याकुरेलले वताए ।
३ वर्षे कार्यकालको लागि भएको चुनावबाट निर्वाचित नवराज बस्नेतले कृषि सहकारीको माध्यमबाट कृषकलाई आत्मनिर्भर बनाउन र कृषकसम्म लालीगुराँस संस्था पुर्याउन सबै सञ्चालक समितिको हात र साथ रहनुपर्नेमा जोड दिए । उनले भने ‘सहकारीमा मेरो र तेरो हुँदैन । सहकारी भनेकै सहकार्य गरेर अगाडि बढ्ने हो ।’
प्रमाण पत्र वितरण कार्यक्रममा संस्थाका पूर्वाध्याक्ष धनपति लिम्बु, छविकेशर प्याकुरेल र संस्थाका सञ्चालक हुमरजंग बस्नेतले शुभकामना मन्तव्य राख्दै कृषि सहकारीलाई अगाडि बढाउनुको विकल्प अहिलेको समयमा नभएको बताएका छन् ।
लालीगुँरास कृषि सहकारी संस्था साविकको प्रकाशपुर गाविस मधुवन, महेन्द्रनगर र भोक्राहा गाविस कार्यक्षेत्र रहेको छ । संस्थामा एक सय ४५ जना शेयर सदस्य रहेको संस्था २०६२ सालमा स्थापना भएको हो ।