रामधुनी । दैनिक रुपमा लामखुट्टेबाट सर्ने महामारीको रुपमा फौलिएको डेंगी संक्रमणलाई सरसफाईमा ध्यान दिए नियन्त्रण गर्न सकिने रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज नगेन्द्र पौडेलले बताए ।
नेपालका अधिकांश ठाउँमा डेंगी संक्रमितको संख्या उच्च रहेतापनि रामधुनीमा यसको असर कम रहेको इन्चार्ज पौडेलले बताएका छन् ।खबरबिटसंग कुरा गर्दै इन्चार्ज पौडेलले आम जनसमुदायहरुले सरसफाइमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिने बताउछन् । आम नगरबासीहरुमा दबाई हालेर डेंगी नियन्त्रण हुने जनबिश्वास रहेको उनको भनाई छ ।
बास्तबमा एडीस जातीको लाम्खुट्टेको टोकाइबाट सर्ने यस रोगलाई सरसफाईमा ध्यान दिए यसको नियन्त्रण गर्न सक्ने उनको भनाइ छ । यस प्रजातीका लाम्खुट्टेले सफा तथा जमेको पानीमा अण्डा पारी लाम्खुट्टेको संख्यामा वृद्धी गर्ने र फोहोर तथा संक्रमित रगत एक पछि अर्को व्यक्तिलाई सार्ने यसको बृद्धी विकासमा रोकेर लाम्खुट्टेको टोकाइबाट बचेमा यसको संक्रमण न्यूनिकरण गर्न सकिने बताउछन् ।
जसकारण हाल सरसफाई विशेष प्रथमिक्तामा राखेर यसको बृद्धी विकासमा रोक्ने तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर डेंगी न्यूनिकरण गर्ने नगरपालिकाले निर्णय गरेको पौडेलले जनाकारी दिए ।
हालको अवस्थामा रामधुनीमा डेंगी संक्रमणको लक्षण भएका २३ जनाको परिक्षणमा ३ जना संक्रमित रहेको उनको भनाई छ । जसमध्य रामधुनी वडा नं. ४, ६ र १ नं. वडाका संक्रमित रहेको जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर पर्साइ, नगरप्रमुख, वडाध्यक्ष, स्वास्थ्य शाखा लगायत सरोकारवालाहरु बिच डेंगी रोकथामका लागि भएको अन्तकृया कार्यक्रमबाट सरसफाई तथा जनचेतनामुलक कार्य गर्ने किनकी लाम्खुट्टे मार्ने औषधी हालदा गर्भवती महिला, ५ बर्ष मुनिका बालबालिका तथा जेष्ठनागरिकहरुमा यसको असर पुग्ने भएको हुनाले औषधी प्रयोग नगर्ने साथै संक्रमणको लक्षण भएकाहरुको रामधुनी ५ मा रहेको कोभिड अस्पतालबाट यसको परिक्षण गर्ने निर्णय भएको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले जानकारी दिए ।
इन्चार्ज पौडेलले भने, “आम नगरबासीहरुले आफ्नो घर वरिपरी सरसफाई नगर्ने अनि नगरपालिकाले आएर लाम्खुट्टे मार्ने औषधी हाली दिए हुने भन्ने मानशिक्ता रहेको छ । सर्वप्रथम त पानी जम्मा हुने टायर, खल्डाखुल्डीमा जम्न नदिने, सधै पानी राख्ने भाडा सफा गर्ने तथा पानी राख्दा छोपेर राख्ने हो भने डेंगी संक्रमण हुनै सक्दैन । लाम्खुट्टेको बृद्धी विकासमा रोक्यौ भने यसलाई समाधान गर्न सक्छौ । अहिले संक्रमितको संख्या पनि अत्यन्त न्यून छ । सबैले यसमा ध्यान दिनु पर्यो ।”
साथै आफ्नो घर छेउछाउमा सरसफाई गरेर लाम्खुट्टेको बृद्धी विकासमा राेक्न तथा संक्रमण न्यूनिकरण गर्न सहयाेग गर्न समग्र नगरबासी अनुरोध समेत गरेका छन् ।