सुनसरी । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछीको हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली पुर्नगठन गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले सीआईबीका डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर कञ्चनपुर पठाएका हुन् ।
पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको सपथग्रहण पश्चात पत्रकारहरुसंग कुराकानी गरेका गृहमन्त्री रवि लामिछानेले ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए ।
गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान र छानबिनसम्बन्धी विषयलाई एकीकृत गरेर दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरिएको थियो ।
गृहको पत्र प्राप्तहुन साथ प्रहरी महानिरीक्षक सिंहले उक्त घटनाको अनुसन्धान गर्न सीआईबीका डीआईजी सिंहको नेतृत्वमा एसपी कमल थापा, मनोचिकित्सक डा. आशीष दत्त, सीआईबीका निरीक्षक दुर्गा योञ्जनसहितको टोली गठन गरेका हुन् ।
पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि मृतक निर्मलालाई न्याय दिलाउन आफू लागिपर्ने बताएपछि प्रहरीले फेरि अनुसन्धान समिति नै बनाएर घटनास्थलतर्फ पठाएको छ ।
‘अनुसन्धान समिति गठनलगत्तै डीआईजीसहित केही कञ्चनपुर पुगिसक्नुभएको छ, केही जाने तयारीमा हुनुहुन्छ,’ सीआईबीका एक अधिकारीले भने, ‘दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन अधिकतम पहल गर्न हामी लागिपरेका छौं ।’
घटनापछि विभिन्न मितिमा जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले अनुसन्धान तथा छानबिन र अनुसन्धान टोली बनाए पनि ती संयन्त्रका सुझावसहितका प्रतिवेदन अझै अलपत्र अवस्थामा रहेका छन् ।