सुनसरी । नेपाल–भारत सीमा क्षेत्र दसगज्जामा पर्ने चारवटा होटल बन्द गर्न विराटनगर–१७ नं.वडा कार्यालयले निर्देशन दिएको छ ।
स्थानीयको मागअनुसार दसगज्जा क्षेत्रमा रहेका मदिरा बिक्री गर्ने होटल बन्द वा स्थानान्तरण गर्न विराटनगर महानगरपालिका–१७ का वडाध्यक्ष समिम कमरले निर्देशन दिएका हुन् ।
मङ्सिर २० गते बसेका वडा समितिकोे बैठकले दसगजा क्षेत्रमा रहेका होटलका कारण अपराध बढेको भन्दै पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिने निर्णय गरिएको हो । यसबारे सम्बन्धित होटल सञ्चालकलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।
त्यस क्षेत्रको राइस मिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–भारत दसगज्जा क्षेत्र तथा प्रहरी पोस्टपूर्व दुई सय मिटर दूरीमा पर्ने मदिरा पसल र होटल बन्द गर्ने निर्णय गरिएको थियो ।
“दसगजा नजिकैका होटलले सामाजिक सद्भावमा असर पारेको मात्रै नभई अपराधको जोखिम बढाएको छ । दुई देशको सीमा खुला रहेका कारण मदिराजन्य होटल बन्द गराउन आवश्यक देखियो,” वडाध्यक्ष कमरले भने ।