बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित सप्तकोशी बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको आइसोलेशनमा एक संक्रमितको मृत्यु भएको छ ।
सो क्याम्पसमा शनिबारदेखि आइसोलेसन केन्द्र संचालनमा आएको थियो । आइसोलेशन संचालनमा आएको दोस्रो दिन आज आइतबार आइसोलेशनमा भर्ना भएका एक कोरोना सङ्क्रमितको मृत्यु भएको आइसोलेसन इञ्चार्ज तथा नगर स्वास्थ्य शाखाको अहेब प्रमोद यादवले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र १० का ७२ वर्षीय वृद्ध रहेका छन् ।
यादवका अनुसार श्वासप्रश्वासको समस्या भएका उनी आइतबार बिहान साढे ११ बजे आइसोलेसनमा भर्ना भएका थिए । दमका बिरामी समेत रहेका उनलाई आइसोलेसनमा अक्सिजन दिएर राखिएको थियो । सोही आइसोलेसन केन्द्रमा करिब साढे सात बजे उनको मृत्यु भएको हो ।
अहिलेसम्म बराहक्षेत्रमा मृत्यु हुनेको संख्या २ पुगेको छ भने संक्रमितको संख्या ३३ जना रहेको यादवले जानकारी दिए । त्यसै गरी बराहक्षेत्रमा हालसम्म दुई जना निको भएको उनले बताए ।
उनका अनुसार नगरपालिकाले सञ्चालनमा ल्याएको सो आइसोलेशन शनिबारदेखि संचालनमा आएको र पहिलो दिन नै ३ जना संक्रमित आइसोलेशनमा भर्ना भएका थिए ।
आइतबारसम्म ५ जना आइसोलेशनमा भर्ना भए पनि एकको मृत्यु, एक रिफर भएको र बाँकी तीन संक्रमित हाल रहेको यादवले बताए ।