१९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् ।
थाइल्याण्डका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १० वर्ष अघि भेटेका थिए । त्यतिबेला ती महिला थाइल्याण्डको साखोन नाखोन प्रान्तमा ती युवकको छिमेकी बन्न आएकी थिइन् ।
उनीहरुबीच पहिलो वास्तविक संवाद त्यतिबेला भयो जब जान्लाले १० वर्षका केटालाई माटाका भाँडोमा भएका केही बिरुवाहरु सार्न मद्दत गर्न आग्रह गरिन् । त्यो दिनदेखि वितिचाई सम्बन्धविच्छेद भइसकेकी ती महिलाको घरमा खेल्न जान्थे र उनलाई घरको काममा सहयोग गर्थे ।
यी दुईले आफ्नो सुरुवाती सम्बन्धलाई मित्रताको रुपमा वर्णन गर्छन् । तर जब वितिचाई १७ वर्षका पुगे तब जान्लाप्रति उनको आकर्षण बढ्यो । वितिचाईले आफ्नो भावना व्यक्त गरेपछि यी दुई जोडीको रुपमा बस्न थाले ।
दुवैले यस वर्षको सुरुमा मात्रै आफ्नो परिवारलाई आफूहरुबीचको रोमान्सबारे जानकारी दिए ।