रामधुनी । पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । आफ्नो छुट्टै विशेषता र महत्व रहेको रामधुनी मन्दिरमा यस लकडाउनको अवधिमा थप केही कामहरु भएका छन् ।
यतिबेला रामधुनी मन्दिर जाने जो कोही भक्तजनहरुले मन्दिरमा परिवर्तन महशुस गर्नेछन् । संघीय सरकारबाट आएको ६८ लाख र स्थानीय रामधुनी नगरपालिकाको कार्यालयबाट आएको ५० लाख रुपैयाँमध्ये केही रकममा मन्दिरपरिसरमा सरसफाइसहित इन्टरलक लगाइएको छ । पोखरी वरिपरी रेलिङ, बस्ने फलामको फलैंचा राखिएको छ भने श्रीयन्त्र मन्दिर निर्माण सुरु गरिएको छ ।
करिब ४० लाख रुपैयाँको लागतमा यति काम निर्माण भएको र लकडाउनका कारण अन्य बजेटको काम हुन नसकेको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताए ।
उनका अनुसार थप इन्टरलक लगाउन, घाट व्यवस्थापन गर्न, श्रीयन्त्र निर्माण सक्न लगायतका अन्य धेरै काम गर्न बाँकी छ ।
यसका साथै सो क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउनका लागि योजना समेत अघि बढाइएको छ ।
केही दिन अघि खबरबिटका आर.बी.कट्वालले क्यामेरामा कैद गरेको रामधुनी मन्दिर तथा परिसर यस्तो देखियो ।