विराटनगर । २४ आश्विन, शुक्रबार
यस वर्षको १ लाख धनराशीको छैटौ ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ ३ जना प्रहरी जवानलाई संयूक्त रुपमा प्रदान गरिएको छ ।
प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवानद्वय खेमनाथ भट्टराई, सुरेन्द्र माझी र जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत मुकुन्द माझीलाई ६४औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले पुरस्कृत गरेको हो । प्रहरी जवानद्वय भट्टराई र माझीले अपराध कार्यमा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नुका साथै ध्वंसात्मक एवं अवाञ्छित गतिविधीमा संलग्न व्यक्तिहरुलाई अत्यन्त बहादुरी र पराक्रमका साथ कानूनी दायरामा ल्याउन विशेष भूमिका निर्वाह गरेकोले सम्मान गरेको हो ।
त्यसैगरी जवान मुकुन्द माझीले कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बाढी पहिरो जस्ता विपदको अवस्थामा अत्यन्त बहादुरीका साथ आफ्नो ज्यानको पर्वाह नगरी उद्धार कार्यमा निर्वाह गरेको भूमिकाले प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा नेपाल प्रहरी प्रति विश्वास अभिवृद्धि गर्ने तर्फ प्रसंशनीय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख धनरासीको साधनादेवि प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरेको हो।
वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप ३ प्रहरी जवनालाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले संयुक्त रुपमा १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरे । पुरस्कार हस्तान्तरण गर्दै प्रनामनि ज्ञवालीले प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधना देबी पराक्रम पुरस्कारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आफ्नी स्वर्गिय माता साधनादेवी श्रेष्ठको नाममा वार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा. बिक्रमप्रसाद श्रेष्ठलाई धन्यवाद दिए ।
साथै प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई प्रमुख अतिथी मुख्यमन्त्री शेरधन राईले दोसल्ला ओढाई सम्मान गरेका थिए ।