झापा । झापामा हत्याको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका ९ का ४७ वर्षीय बुधलाल किसान र २८ वर्षीय भयङकर भनिने भुखन किसान पक्राउ परेका हुन् ।
गत पौष ०३ गते आफ्नै घर अगाडि मृत फेला परेका स्थानीय ४२ वर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
मृत फेला परेका गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखि गम्भीर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिएसँगै निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथै निजहरुले घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।