रामधुनी । कुलतमा फसेका निम्न आर्थिक स्तर भएकाहरुलाई निःशुल्क उपचार गराइदिने उद्देश्यसहित इटहरीमा हेल्पिङ हेन्ड स्थापना गरिएको छ । शुक्रबार इटहरी उपमहानगरपालिका ५ हलगडामा एक कार्यक्रम गरी क्लबको विधिवत स्थापना गरिएको हो ।
क्लबको अध्यक्षमा राजेश राई नियुक्त भएका छन् । उनले आफू कुलतमा फसेर रिहाब सेन्टर बस्दा धेरै कुरा सिकेको र त्यही कुरा हुन नदिन क्लबको स्थापना गरिएको जानकारी दिए । साथै उनले यो क्लबले यो वर्ष २१ जनालाई विराटनगर र इटहरीमा रहको रिहाब सेन्टरमा निःशुल्क उपचार गरिदिने जानकारी दिए ।
उनका अनुसार क्लबको पहलमा आर्थिक अवस्था कम भएका लागूऔषध सेवनकर्तालाई कुलतबाट छुटाउन ३ महिला र १८ जना पुरुषको निःशुल्क उपचार हुन लागेको हो । ‘निम्न आर्थिक स्तर भएका परिवारका छोराछोरी कुलतमा फस्दा परिवारले रिहाब सेन्टरमा राखेर उपचार गर्न सक्दैनन्,’ उनले भने, ‘त्यस्तै समस्यामा परेकालाई निःशुल्क उपचार गराइदिने हेतुका साथ इटहरीमा हेल्पिङ हेल्पिङ हेन्ड क्लबको स्थापना भएको हाे ।’
रिजवन फेलोसिप विराटनगरमा पाँच जना पुरुष, नव ज्योति सुधार केन्द्र विराटनगरमा एक जना पुरुष, मुक्ति केन्द्र इटहरीमा एक जना पुरुष, मोक्ष पुनर्जीवन केन्द्र इटहरीमा तीन जना पुरुष, एक नेपाल इटहरीमा तीन जना महिला र तीन जना पुरुष, सहारा पुनजीवन केन्द्र इनरुवामा एक जना पुरुष र रक्षा फाउन्डेसन पलकीमा एक जना पुरुषको क्लबले निःशुल्क उपचार गर्ने भएको हो ।