इटहरी । इटहरी-२ स्थित बुढासुब्बा खेल मैदानमा आगामी ३२ गते बिहीबारदेखि फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।
तालतलैया फुटबल क्लबको आयोजनामा असार ९ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
क्लबका अध्यक्ष शंकर राईका अनुसार प्रतियोगितामा सुनसरी, मोर र उदयपुरका गरी १० टिम सहभागी हुनेछन् । उनका अनुसार प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार र उपबिजेता टिमले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
कार्यक्रम संयोजक सुरेन्द्र राईका अनुसार वि.सं. २०७२ सालमा स्थापना भएको उक्त क्लबले यसअघि विभिन्न प्रशिक्षण गराउँदै आएको छ ।
उनले उक्त प्रतियोगितामा खेलको म्यान अफ दि म्याच पुरस्कार, विभिन्न विधमा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार र हरेक टिमलाई यातायात बापत खर्च समेत प्रदान गरिने बताए ।
उनका अनुसार प्रतियोगितामा कूल १२ लाख लागत लाग्ने अनुमान गरिएको छ । क्लबका सचिव रोसन भुजेलले उक्त क्लबले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागी भइ विजयी भएको बताए ।
उनले खेल क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्नका निम्ति उक्त प्रतियोगिताले सहजीकरण गर्ने बताए ।