रामधुनी । इटहरीमा फुड फेस्टिबलको तयारीलाई तीब्रता दिइएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमिएर होटल स्कूलको व्यवस्थापनमा इटहरीमा फागुन २९ गते शनिबार इटहरी रंगशालामा फुड एण्ड बेभरेज मेला २०२१ को तयारीलाई तीब्रता दिइएको हो ।
कार्यक्रम संयोजक तथा प्रिमियर होटल स्कूल इटहरीका सिईओ सुनिल भुषालका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति समेत रहनेछ । उनका अनुसार खादैँ रमाउँदै पर्यटनलाई बुझ्ने नौलो योजनाका साथ उक्त फेस्टिबलको तयारी गरिएको हो ।
कार्यक्रममा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो मास्टर सेफ प्रोफेशनल यूकेका उपविजेता सन्तोष शाह कार्यक्रममा सहभागी हुने भुषालले बताए । ‘हामीले एकदिने फुड फेस्टिबल आयोजना गर्दा ४ हजार भन्दा बढी मानिसहरु आउने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘उक्त फेस्टिबल आयोजनाका लागि करीब नौ लाख रुपैँया लागत लाग्ने अनुमान गरेका छौँ ।’
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीका अनुसार फेस्टिबलमा चर्चित गायक सुगम पोखरेल, नेपाल आइडल सिजन ३ का रनरअप किरण भुजेल, गायिकाद्धय एलिना चौहान, समीक्षा अधिकारी तथा कमेडी च्याम्पियनका सुमन कोइरालाले मनोरञ्जन दिनेछन् ।
‘आन्तरिक पर्यटनको उत्थानका निम्ति यो फेस्टिबलको आयोजना गरिएको हो,’ पुरीले भने, ‘पूर्व घुमौँ भन्ने उद्देश्यले पनि फेस्टिबलको तयारी अगाडि बढाएका हौँ ।’ उनका अनुसार कार्यक्रममा फेसन शो समेत आयोजना हुने भएकाले स्थानीय पर्यटकहरुले मनोरञ्जन लिनेछन् ।
एक सय रुपैँया प्रवेश टिकट रहने फेस्टिबलमा इटालियन, चाइनिज, स्विस, मेस्सिकन खानाहरु समेत रहने पुरीले बताए । एक हजार रुपैयाँ शुल्क रहने टिकटमा भने दुई जनाले प्रवेश पाउने साथै दुई प्रकारका खानाहरु समेत पाउने उनको भनाइ छ ।