काठमाडौं । सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू-उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ ।
विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू-उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ ।
यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिमा सन् २०२२ भित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरी मुलुकभित्रैबाट यससम्बन्धी विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सूचना तथा सञ्चारको क्षेत्रमा थप प्रभावकारिता ल्याउन अबको दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू-उपग्रह स्थापना गर्ने लक्ष्यसहित भू–उपग्रह नीति ल्याइएको स्पष्ट पारे । अब नीतिअनुसारका काम अगाडि बढ्नेछन् ।
भू-उपग्रह स्थापनासँगै सन् २०२४ सम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा डिजिटल क्षेत्रको योगदान उल्लेख्य रूपमा वृद्धि हुनेछ । दुर्गम र अति विकट भौगोलिक क्षेत्रका जनतासमक्ष ब्रोडब्यान्ड इन्टरनेट सेवा र प्रसारण सेवाको पहुँच सुनिश्चित हुने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।