काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालमा सक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिए ।
उनले हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको पनि जानकारी दिए ।
संक्रमण दर कम हुँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको जनाएको छ । मन्त्रालयले संक्रमण दर कम भएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।
गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।
गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए । यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।