अहिले दैनिक ज्यालामजदुरी गर्ने मजदुर तथा बिपन्न परिवारलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले बराहक्षेत्र नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन राहत कोषमा २५ लाख ८७ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ ।
बराहक्षेत्र नगरपालिकाले लकडाउनबाट पीडित गरिब परिवारलाई राहत वितरणका लागि बराहक्षेत्र नगरपालिकाले प्रकोप व्यवस्थापन राहत कोष खडा गरेपछि अहिले विभिन्न सघसंस्था तथा ब्यक्तिहरुबाट उक्त कोषमा पैसा जम्मा हुने क्रम जारी रहेको नगर प्रमुख निलम खनालले बताए ।
बराहक्षेत्र ६ चक्रघटीमा रहेको महेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार, बराहक्षेत्र ५ विशाल चौकमा रहेको अमाह सामुदायिक वनले ४५ हजार, नेपाल मानव धर्म सेवा समिति साविक भरौलले ११ हजार १ सय ११ रुपैयाँ कोषमा जम्मा गरेको छ । त्यसी गरी प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य उमिता बराइलीले ५ सय १० केजी चामल दिन नगरपालिकालाई प्रतिवद्धता जनाएको प्रमुख खनालले जानकारी दिए ।
सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र ६ ले कोषमा ६५ हजार र बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जारमा रहेको न्यू स्टार फुटबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए । न्यु स्टार क्लब अध्यक्ष लगायत समिति शुक्रबार मेयरको कार्यकक्षमा पुगेर उक्त रकमको रसिद नगर प्रमुख खनाललाई हस्तान्तरण संस्थाको अध्यक्ष भेसराज कार्कीले बताए ।
नगरपालिकाको उद्धार राहत तथा पुर्नस्थापना कोषको १०लाख रुपैयाँबाट सुरु गरिएको सो कोषमा बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधाबाट ७ लाख ३६ हजार ६५ रुपैयाँ र बाँकी नगरक्षेत्र भित्रका सामाजिक संघसस्था तथा व्यक्तिहरुको सहयोगबाट उक्त रकम जम्मा भएको हो ।