छिमेकी जिल्ला उदयपुरमा शुक्रबार एकैदिन १२ जनामा कोरोना संक्रमण भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा समेत कडाइ गरिने भएको छ ।
शनिबारबाट तीन दिन लकडाउन थप कडा बनाउने इलाका प्रहरी कार्यालय चक्रघट्ीका इन्स्पेक्टर शरणकुमार दाहालले बताए । शनिबार बिहान ५ बजेदेखि बराहक्षेत्र भित्र रहेको कुनै पनि खाद्यान्न पसल, किराना पसल ,औसधि पसल, ग्यास, पेट्रोल लगायत सम्पूर्ण पसल बन्द गर्ने जिल्लाबाट आदेश आएको उनले बताए ।
सोही आदेश अनुसार आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाउनेगरी अत्यावश्यक वस्तु बिक्री गर्ने औषधि पसलदेखि दुग्ध पसह(डेरी) सबै बन्द हुने भएको हो । ‘हामीले माइकिंग गर्दै सबैलाई जानकारी गराइसकेका छौं,’ दाहालले भने, ‘यदि भोलि(आइतबारबाट) हामीले कोहि आफ्नो घरबाट बाहिर निस्केको र बाटोमा हिँडेका भेट्यौं भने बाटोमै ४ घण्टा गोलो घेराभित्र राखेर उभ्याउछौं ।’
उति गर्दा पनि भएन भने बाहिर निस्किनेलाई क्वारेन्टाइनमा राख्ने उनले बताए । उनका अनुसार यस्ता कडाइ ८ वैशाख राति ८ बजेसम्म हुनेछ ।