रामधुनी । कोरोना संक्रमण बढ्दै जान थालेपछि सुनसरी जिल्लालाई ५ दिनका सम्मको लागि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो ।
सुनसरी जिल्ला प्रशासनमा बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले मंगलबारको निर्णयलाई पुनर्विचार गर्दै जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै आज राति १२ बजेदेखि साउन २६ गतेसम्म राति १२ बजेसम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
जिल्लाको इनरुवा, बराहक्षेत्र, दुहबीलगायतका क्षेत्रमा कोरोना जाँच गर्दा संक्रमितको संख्या बढ्दै गएपछि जिल्लालाई निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासनले जनाएको छ। यो समयमा सरकारी तथा अन्य संस्थाका कर्मचारीले कार्यलय समयअघि तथा पछि कार्यालयको काममा भने आवतजावत गर्न पाउने बताइएको छ।
समितिको निर्णयअनुसार सरकारी नम्बर प्लेटका सबारी, खाद्यान्नका सवारी र अत्यावश्यक सवारीबाहेक अन्य सम्पूर्ण सवारीसाधन चलाउन नपाउने बताइएको छ। उद्योगहरुले भने स्वास्थ प्रोटोकल अपनाएर उद्योगधन्दा सञ्चालन गर्न पाउनेछन्।
मंगलबार इटहरी उपमहानगरमा पाँच दिन, इनरुवा नगरपालिकामा दुई साता र दुहबी नगपालिकामा दुई साताका लागि लकडाउन गर्ने निर्णय भएको थियो ।