कोरोना संक्रमित रामधुनीकी युवतिको घरक्षेत्रमा निरीक्षण गरिएको छ । बुधबार एक बालकसहित १९ जनाको स्वाब परीक्षण गरेपछि सम्बन्धित एक टोलीले सो क्षेत्रमा निरीक्षण गरेको हो ।
जिल्ला अस्पताल सुनसरी, सामाजिक विकास मन्त्रालय प्रदेश १, जनस्वास्थ्यका प्रतिनिधि, रामधुनी नगरपालिका, नगर अन्तर्गत स्वास्थ्य कमिटि, वडा कार्यालय, प्रहरीलगायतको टोलीले सो क्षेत्रमा निरीक्षण गरेको नगर उपप्रमुख सबिना चौधरीले बताइन् । हाललाई सो क्षेत्र के कस्तो हो ?, बस्ती कस्तो छ ? स्थानीय कस्तो अवस्थामा छन् भनेर निरीक्षण गरेको र स्थानीयलाई नआत्तिन आग्रह गरेको चौधरीको भनाइ छ ।
परीक्षणको रिपार्ट आउन २४ घण्टा लाग्ने भएकाले रिपोर्ट अनुसार सो क्षेत्रमा थप काम अघि बढ्ने रामधुनी ४ का वडाध्यक्ष मनेष चौधरीले बताए । ‘दिउँसो सो क्षेत्रमा निरीक्षण गरेका छौं, १९ जनाको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पनि पठाइएको छ,’ उनले भने, ‘रिपोर्टको नतिजा अनुसार सतर्कता बढाउने र सिल गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’
जिल्ला अस्पताल सुनसरी पठाइएको स्वाबको रिपोर्ट पोजेटिभ आए सो क्षेत्रलाई सिल गरि सतर्कता उच्च पार्ने चौधरीले बताए ।
मंगलबार भक्तपुरमा ति २५ वर्षीया युवतीलाई कोरोना लागेको र उनी केही दिन अघि मात्र रामधुनीबाट झुम्का गएको पाइएपछि स्वाब परीक्षण, सतर्कता र निरीक्षणलाई अघि बढाइएको हो । त्यस्तै बुधबार दिउँसाे युवतीकाे परिवारका सदस्यलाई स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल सुनसरी लगिएको थियाे ।