सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
झापाको दमक–३ निवासी ८३ वर्षीय पुरुषमा अत्याधिक खोकी, श्वास फेर्न समस्या तथा ज्वरो आएपछि परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई बी एन्ड सी टिचिङ अस्पताल बिर्तामोडले प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियो ।
गत भदौ ३ गते अस्पताल भर्ना गरिएका उनको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनमा मिर्गौलाको दीर्घकालिन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोशीकाको समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै, मोरङको बेलबारी ५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत ९ गते अस्पताल भर्ना भएर कोरोना पुष्टि भएका उनको शुक्रबार(आज) बिहान निधन भएको हो ।







