काठमाडौं । दैनिक रुपमा युवाहरुको समूहले सरकारविरोधी प्रदर्शनलाई जारी राखेपछि गृह मन्त्रालयले त्यस्ता प्रदर्शनमा सहभागी भए ६ महिनासम्म थुन्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रदर्शन वा यस्तै नाममा धेरै मानिस जम्मा हुने, भीडभाड बढ्ने र यसले कोरोना संक्रमणको जोखिम उच्च हुने उल्लेख गर्दै यस्ता गतिविधिमा सामेल नहुन, कसैलाई सामेल नगराउन आग्रह गरेका छन्।
सरकारको आग्रहविपरीत कसैले प्रदर्शन गरे, भीडभाड गरे वा यस्ता भीडभाड बढाउने कार्यक्रममा कसैलाई सहभागी गराउने काम गरे संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ ।
सो ऐनको सो दफामा बन्दाबन्दीको आदेश उल्लंघन गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीको आदेशमा रु १०० देखि रु ६०० सम्म जरीवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्ने व्यवस्था रहेको छ ।
पछिल्लो समय सरकारको भ्रष्ट प्रवृतिविरुद्ध काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुमा युवाहरुले स्वस्फूर्त प्रदर्शन गरिरहेका छन् । उनीहरुले कोरोना नियन्त्रणको नाममा सरकारबाट लापरबाही र भ्रष्टाचार भएको दाबी गर्दै यसको कडा भत्र्सना गरी दैनिक प्रदर्शनलाई जारी राखेका छन् । यसैलाई रोक्न गृहले कडा निर्देशन जारी गरेको हो ।