बराहक्षेत्र । गत वर्ष कोरोना भाइरस संक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस वर्ष लाग्ने भएको छ । कोरोना भाइरसको सक्रमण दर न्यून हुँदै गएको र मानिसको चहल पहल सुरु भएसँगै यस वर्ष भने मेला आयोजना हुने भएको हो ।
प्रत्यक वर्ष बराहक्षेत्र धाममा लाग्ने धार्मिक कार्तिके मेला यस वर्ष कात्तिक २९ गते सोमबार एकादशिको दिनदेखि मङसिर ३ गते शुक्रबार पुर्णिमाको दिनसम्म गरेर ५ दिन लाग्नेछ । गत वर्ष कोभिड १९ का कारण भारतीय तिर्थालु आउन नसक्दा पूर्ण रुपमा मेला लाग्न सकेको थिएन । गत वर्ष व्यापारीहरु तथा छिटफुट रुपमा मात्र स्थानीय भक्तजनहरुमात्र सहभागी थिए ।
मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सबै तयारी समेत पूरा भएको मेला आयोजक बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।
उनका अनुसार भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, बिधुत लगाइएको छ । विभिन्न स्थानमा महिला र पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिएको छ ।
मेलाको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनको लागि बराहक्षेत्र नगरपालिका, वडा नम्बर १ को कार्यालय, बृहत्तर वराहक्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । उक्त मेला नगरपालिका बनेदेखि बराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै आएको छ ।
भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र बराहक्षेत्रलाइ संसारको चारधामको रुपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तिर्थयात्री आउने संरक्षण मञ्चका सचिव घिमिरेले बताए । घिमिरेका अनुसार ५ लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको छ ।
मेलालाई व्यस्थिय बनाउन मन्दिर परिसद सरसफाई, कोका खोला सस्याउने, रङरोगन लगाउने लगायतका अधिकांश काम गरिएको मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।