सुनसरीको बराहक्षेत्र नगरपालिका वडा १ चतराबाट मानव वेचविखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका एक युवासहित तीन जनालाई पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएको छ ।
कारागार चलान गरिएकाहरुमा महोत्तरीका सुशील साफी, जनकपुर नगरपालिका-७ का ललन मण्डल र महेश प्रसाद यादव छन् । उनीहरु उपर इलाका प्रहरी चक्रघट्टीले मानव बेचविखन तथा ओसार पसारको अभियोगमा मुद्दा दायर गरेकोमा सुनसरी जिल्ला अदालतको पूर्पक्षका लागि थुनामा राख्ने आदेश अनुसार झुम्का कारागार चलान गरिएको हो ।
इलाका प्रहरी चक्रघट्टीका प्रहरी निरीक्षक शरण दहालका अनुसार अनुसन्धान गर्दै गर्दा किशोरी बेचविखनको नियतले लैजान लागेको घट्नामा महोत्तरीका सुशील साफी पनि संलग्न रहेको पाइएपछि थप एकजना गरि ३ जनालाई बिहीबार पुर्पक्षमा झुम्का कारागार चलान गरिएको छ ।
गत २७ वैशाखमा दुई किशोरीसहित आएको मोटरसाइकल बराहक्षेत्र १ स्थित चतरा सशस्त्र प्रहरी बलकाे पहिलो चेकपोस्टमा नरोकी तीव्र गतिमा भागेको थियो । शसस्त्र प्रहरीले लगत्तै भण्डारीटारको दोस्रो चेकपोस्टमा रोकेर जाँच गर्दा धरान वडा ११ की १४ र १७ वर्षिया दुई किशोरीलाई ललाईफकाई लाहान भन्दै जनकपुर लैजान लागेको खुलेपछि किशोरीहरूलाइ उद्वार गरी मोटरसाइकल चालक ललन मण्डलसहित, महेशप्रसाद यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रमुख असोक न्यौपानेले बताए ।
सशस्त्र प्रहरी बल चतराले गत वैशाख २७ गते दुई बालिकालाई उद्धार गरी इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाएको थियो । त्यसपछि नेपाल प्रहरीले थप अनुसन्धान गरेको थियो ।