उदयपुर । बेलका नगरपालिकाका किसानहरुले लगाएको खेतिबालीमा किरा लाग्न थालेपछि कृषि शाखाले उपचार शिविर सञ्चान गर्न थालेकाे छ ।
गवारो ,पात कुहिने,सुलसुले,गानों कुहिने,पात खाने किरा लगायतका समस्या देखिन थालेपछि कृषि शाखा कार्यालयले वालि बिरुवामा लागेको रोग तथा किराहरुको उपचारका लागि ‘प्लान्ट क्लिनिक’ नगरपालिका को ९ वटै वडाहरुमा संचालनमा ल्याएको हाे ।
बुधबार बेलका नगरपालिका को वडा नं ८ सोमवारेमा कृषि शाखा कार्यलयले घुम्तिवाली सिविर संचालन गरी एक सय बढी किसानहरुलाई औषधीहरु वितरण गरेको कार्यलयले जनाएको छ। बेलका नगरपालिकाका कृषकहरुलाई कार्यक्षेत्रमै पुगेर कृषि प्राविघीकहरुले बाली विरुवामा भएका रोग तथा किरा र अन्य समस्याहरुको नमुनाको आधारमा बाली बिरुवाको उपचारको कार्य गरिरहेको बेलका नगरका कृषि ईन्जिनियर बुद्धिनाथ तिम्सिनाले बताए।
किसानहरुले लगाएको बाली तथा विरुवाहरुमा लिपलाईट,गवॉरो,फट्के जस्ता रोग तथा किराहरुले दुख दिन थालेपछि बेलका कृषि शाखाले स्विप अपरेसनकै रुपमा बाली क्लिनिकको रुपमा घुम्तिबाली उपचार सिविर नै संचालन गरेको कृषि शाखा बेलकाले जनाएको छ।
खेतीबालीमा लागेका रोग किराहरु बिरुद्ध ढुसिजन्य,रोग नाशक र किटनासक औषधीहरु किसानहरुलाई बितरण गरिएको छ । धानवालि ,दाल खेती लगायतका कृषिवालीमा रोग किराहरुले आक्रमण गर्न थालेको गुनासो कृषकहरुले वडामा राखेपछि अभियानकै रुपमा रोग किरा विरुद्ध शिविर संचालनमा ल्याएको कृषि ईन्जिनियर तिम्सिनाले बताए ।
‘वडा कार्यलयमा वडाका किसानहरुले बाली बिरुवामा लागेका रोग किराका बारेमा गुनासो राखेपछि हामीले सम्बन्धित शाखालाई खबर गर्यौ,’ वडा नं ८का वडाध्यक्ष जय कुमार राईले भने, ‘नगरबाट कृषि प्राविधिकहरु खटिनुभयो ।’
बेलका नगरपालिकाले रैथानेवालि संरक्षणका लागि पनि आवश्यक कार्य गरिरहेको राष्ट्रिय कृषक महासंघ बेलका नगर अध्यक्ष तथा बेलका नगरका कृषि सल्लाहकार नारद निरौलाले बताए । सल्लाहकार निरौलाकानुसार पशु तर्फ रैथाने सिंगारी,तिलकाने,घोर्ले जातका बाख्राहरुको पनि संरक्षण गर्न थालिएको बताए ।
अर्को प्रसंगमा कृषि ईन्जिनियर तिम्सीनाले यस वर्ष धान खेतिमा मौसमले साथ दिएकाे तथा फ़ौज़ि किरालाई समयमै रोकथाम गर्न सकिएमा धान उत्पादनमा बृद्धि हुने बताए। बेलकामा हाल १२ सय हेक्टर जमिनमा धान खेति लगाईएको कृषि तथ्यांक रहेको छ।बेलकाले प्रत्येक वडामा कृषि प्राविधिक पनि राख्ने र स्थानिय कृषि श्रोत व्यक्तिहरु पनि परिचालन गर्ने योजना रहेको ईन्जिनियर तिम्सिनाले बताए ।