सुनसरीको इनरुवामा आइतबार २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भगवती मावि इनरुवामा राखिएको क्वारेन्टाइनमा २ जना युवा कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
उक्त क्वारेन्टाइनबाट २२ जनाको स्वाब संकल्न गरी परीक्षणका लागि पठाइएकोमा २ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनीहरूको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरमा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार २३ र २७ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । इनरुवा नगरपालिका वडा नं. १० घर भएका २३ वर्षिय युवा तथा वडा नं। २ घर भएका २७ वर्षिय युवामा संक्रमण देखिएको हो। उनीहरु दुवै जना भारतबाट आएका हुन् ।
दुवै जना भारतबाट गत जेठ १६ र १९ गते भगवती मावि इनरुवाको क्वारेन्टाइनमा बसेका थिए ।