सुनसरी । बराहक्षेत्र नगरपालिका ५ मा रहेको चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २१औं साधारणसभा सोमबार सम्पन्न गरेको छ ।
बराहक्षेत्र ३, ४ र ५ वडा साबिक भरौललाई आफ्नो कार्यक्षेत्र बनाएर महिलाहरुद्वारा २०५६ सालमा स्थापित सहकारीले कार्यालयकै प्रांगणमा साधारणसभा सम्पन्न गरेको हो । सहकारीले हाल ११ सय ३२ सदस्ययहरु बनाएको छ । संस्थाको चुक्ता सेयर पुँजी ४ करोड ३० लाख २ हजार ७ सय रहेको छ । संस्थाले यस वर्ष १५ करोड २७ लाख ८ हजार ९ सय ९० रुपैयाँ बचत संकलन गरेको छ भने संस्थाले यस आर्थिक वर्ष ३१ करोड १९ लाख ५ हजार १ सय ७९ रुपैयाँ लगानी गरेको छ ।
संस्थाले यस वर्ष ५९ लाख ७२ हजार ४ सय ७८ रुपैयाँ आम्दानी गरेको जनाएको छ । नगद मौज्दात २ लाख ९३ हजार १८ र बैंक मौज्दात १४ लाख ४९ हजार ७८ रुपैयाँ रहेको संस्थाको व्यवस्थापक रेनुका कटुवालले आर्थिक प्रतिबेदनमा प्रस्तुत गरिन् ।
उनले संस्थाको आयकर पछीको खुद नाफा भने ८ लाख २१ हजार ७ सय ७ रुपैयाँ रहेको समेत जानकारी गराइन् । संस्थाकी अध्यक्ष कुमारी बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरु समेत प्रस्तुत गरिन् । संस्थाले आगामी दिनमा सेयर सदस्यलाई सरल सुविधामा ऋण उपलब्ध गराउने समेत बस्नेतले बताइन् ।
उक्त कार्यक्रममा संस्थामा राम्रो कार्य गरेको बचत गर्ने लगायत १० जना सेयर सदस्यलाई समेत सम्मान गरिएको छ । संस्थाकी अध्यक्ष बस्नेतको सभापतित्व रहेको साधारणसभामा बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसेगरी बराहक्षेत्र ३ का वडाध्यक्ष रुद्र दाहाल, ४ का अध्यक्ष आसाराम चौधरी, विभिन्न संस्थाका प्रतिनिधि, संस्थाका सल्लाहकार, सदस्यीय राजनीति लगायत सेयर सदस्यहरुको उपस्थिति थियो ।