सुनसरी : ‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५औं सहकारी दिवस सुनसरीको इनरुवामा आइतबार सम्पन्न भएको छ । सहकारी प्रशिक्षालय इनरुवा सुनसरीले प्रभातफेरी गरी बजारक्षेत्र परिक्रमा गरेको थियो ।
दिवसकै अवसरमा आयोजित अन्र्तक्रियामा सहकारी तालिमको परिचय, नेपालमा सहकारी तालिमको अवस्था, महत्त्व बारेमा सहकारी प्रशिक्षक एकनाथ दाहालले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।
सहकारी क्षेत्रमा तालिमको समस्या र समाधानका उपायहरुका बारेमा सहकारी प्रशिक्षक नरेन्द्र पराजुलीले प्रष्ट्याएका थिए । पराजुलीले भने, “लामो समयदेखि सरकार र सहकारी अभियानले सहकारी संघ संस्थाका प्रवद्र्धनका लागि नीति नियम र कार्य बनाएर तालिमलाई अगाडि बढाउन खोजिएपनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।” तालिमपश्चात सिकेका जानेका कुराहरुलाई व्यवहारमा नउतार्नु र सम्बन्धित निकाले तालिमप्राप्त व्यक्तिहरुको क्षमतालाई सदुपयोग नगर्नु जस्ता कार्यले समस्या समाधान हुन नसकेको उनको भनाई थियो ।
अन्तर्क्रिया प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका निमित्त रजिष्ट्रार हरि खत्री, जिल्ला सहकारी संघ खोटाङको सरिता राई, जिल्ला कृषि सहकारी संघ सोलुखुम्बुका संयोजक गोकुल राई, राष्ट्रसेवक सहकारीका यादव भण्डारीलगायतले सहकारीको प्रवद्र्धनमा तालिमको ठूलो महत्व रहेको बताए ।
सहकारी प्रशिक्षालयबाट प्रदान गरिने अधारभूत सहकारी लेखापालन, आधारभूत सहकारी व्यवस्थापन, अभिलेख व्यवस्थापन, पल्स अनुगमन तथा व्यावसायिक योजना निर्माण, सहकारी ऐन, नियम तथा सम्पत्ति शुद्धीकरण निवारण र सहकारी सचेतना तथा जागरण तालिम प्रदान गर्दै आएको छ । प्रदेश १ भरिका सहकारीहरुलाई तालिम प्रदान गर्दै आएको प्रशिक्षक नरेन्द्र पराजुलीले जानकारी दिए ।