नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले धरानमा आयोजना गरेको चलचित्र निर्माण सम्बन्धि ५ दिने आधारभुत तालिम सम्पन्न भएको छ । फागुन २३ देखि धरान १९ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
प्रदेश १ मै पहिलोपटक आयोजना भएको तालिममा नेपाली चलचित्रका अनुभवी कलाकार, छायाँकार, लेखक, समीक्षक तथा निर्देशकहरुद्वारा प्रशिक्षण दिइएको थियो । मुख्य प्रशिक्षक नीर शाह, दीपा श्री निरौला, युवराज लामा, दयाराम दाहाल, प्रकाश सायमी, सामिप्याराज तिमल्सिना, पुरुषोतम प्रधान, रक्षा सिंह राणा, जनकदीप पराजुली, भोलानाथ सापकोटा लगायतका चर्चित चलचित्रकर्मीहरुले ५० जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कोभिड १९ पछिको ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनुको साथै चलचित्र क्षेत्रको एउटा प्रमुख गतिविधी हुने प्रदेशका १ का १४ जिल्लाहरुमा चलचित्रको बजार र आर्कषण बढाउने उद्देश्यले नेपाली सिने जगतका दिग्गज चलचित्रकर्मीहरुद्वारा प्रशिक्षण दिइएको तालिमको समापन समारोहका प्रमुख अतिथी प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशेष अतिथी वरिष्ठ कलाकार तथा प्रशिक्षक नीर शाह, विशेष अतिथी संघीय सांसद जय कुमार राई, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष रबिन्द्र अधीकारी, कलाकार पुष्प श्रेष्ठ तथा प्रदेश एक भरिका चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी संचारमन्त्री उपेन्द्र प्रशाद घिमिरेले आफु मन्त्री बनेको ३३ दिन बितिरहँदा आफुले चलचित्र क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ र यहाँको चलचित्र पर्यटनलाई कसरी जोड्न सकिन्छ भनेर विशेष चासोको साथ हेरिरहेको बताए । उनले चलचित्र विकास बोर्ड स्थापनामा प्रदेश सरकार सकरात्मक रहेको भन्दै चलचित्र क्षेत्रसँग जोडिन सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रमका विशेष अतिथी जयकुमार राईले आफ्नो बजेट मार्फत धरानमा नाटकघर निर्माणको सुरुवात भए पनि अहिले निर्माणधिन अवस्थामा देख्दा दुःख लागेको बताए । उनले नाटक घर निर्माण सम्पन्न्न गर्नको लागि प्रदेश सरकारले बजेट छुट्याउनु पर्ने माग गरे । चलचित्र क्षेत्र विकास नभए सुःखी नेपाली समृद्ध नेपाल सम्भव भएकाले आर्थिक वर्षमै बजेट छुट्याउनु आवश्यक रहेको र छायाँकन स्थलको लागि डिपिआर तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथी तथा मुख्य प्रशिक्षक वरिष्ठ कलाकार नीर शाहले प्रदेश १ मा यति राम्रो तालिम आयोजना हुनु खुशीको कुरा भएको बताए । उनले नेपाली चलचित्र क्षेत्रलाई सानो बजार भन्न नमिल्ने बताए । उनले प्रदेश एकको चलचित्र विकासको लागि आफु सधैं सकरात्मक रहेको र आवश्यक परे जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रमका सभापति तथा महासंघका अध्यक्ष अरुण कुमार प्रधानल प्रदेश १ को चलचित्र विकास र चलचित्रकर्मीहरुको हकहितको लागि खडा भएको संघ भएकोले आफुहरुले आफ्नै बलबुतामा यती ठूलो कार्यक्रम आयोजना गरेको बताए । प्रदेशमा रहेर कलाकरिता गर्नेहरुलाई हेर्ने दृष्टिकोण फरक भएकै कारण त्यो अपमान जनक व्यवहार तोड्नकै लागि पनि यस्ता कार्यक्रम आयोजना गरेको बताए ।
पाँच श्रष्टा सम्मानित
चलचित्र निर्माण आधारभुत प्रशिक्षण तालिमको समापान समारोहमा प्रदेश १ का ५ जना श्रष्टाहरु सम्मानित भएकाछन । नेपाली गायन र कलाक्षेत्रका बिभिन्न व्यक्तिहरुलाई आयोजकले सम्मान गरेको हो । श्रष्टाहरुमा गायक, संगीतकार, श्रष्टा एल पि जोशि, गायक तथा संगीतकार रामा मंण्डल, लिम्बु चलचित्रका प्रथम नायक नर प्रसाद लुङ्फुङ्वा, निर्देशक विजय केरुङ, समाजसेवी हङकङ निवासी त्रीभुवन लुङ्फुङ्वा रहेका छन् ।
उत्कृष्ट एक प्रशिक्षार्थीलाई पूर्ण छात्रवृत्ति
चलचित्र निर्माण आधारभुत प्रशिक्षण तालिममा सहभागीहरु मध्येबाट उत्कृष्ट एक जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ । फिल्म निर्माणको तालिमको शैक्षिक पाट्र्नर रहेको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनले प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट एकजनालाई पूर्ण छात्रावृत्ति र बाकीँलाई ५० प्रतिशत छुट दिने संचालक रोनिश राउतले जानकारी दिए ।