रामधुनी । रामधुनी नगरपालिका वडा नं. ५ झुम्कामा अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नन्दकुमार बस्नेत, रामधुनी ५ का वडाअध्यक्ष फुयाल, ८ का वडाध्यक्ष रुद्रबहादुर बस्नेत, ४ का वडाध्यक्ष मनेशकुमार चौधरी लयागतको उपस्थितिमा अस्पतालको उद्घाटन गरिएको हो ।
नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै ५ शैयाको कोभिड अस्पताल निर्माण गरेको नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाअध्यक्ष डेगराज फुयाँलले जानकारी दिए ।
अस्पतालका लागि एकजना एमविएस डा.समेत नियुक्त गरिसकिएको वडाअध्यक्ष फुयाँलले अस्पताल उद्घाटन समारोहमा जानकारी दिए । तत्काल अस्पताल ‘फिबर क्लिनिक’को रुपमा संचालन गरिने र भबिष्यमा ‘आइसीयू’सहितको सेवा दिने गरी विकास गरिने नगर प्रमुख चौधरीले जानकारी दिए ।
नगरपालिकाको ३ लाख र वडा नं ५ कोे १० लाख गरी कुल १३ लाख रुपैयाँको लागतमा अस्पतालको भौतिक संरचना निर्माण गरिएको फुयाँलले जानकारी दिए ।
सुरुमा नेपालमा कोरोना फैलिँदा निकै डर भएको, कोरोना संक्रमित हिँडेको सडकमा समेत हिँड्न डर हुने गरेको र नगरमा संक्रमित हुँदा तत्काल उपचारको लागि लैजान एम्बुलेन्सलाई सम्पर्क गर्दा दुई दिन पछिको समय दिएको भन्दै अबका दिनमा चाँडै वडामा एम्बुलेन्स ल्याउने वडा अध्यक्ष फुयालले जानकरी दिए ।
एम्बुलेन्स खरिद गर्न वडाध्यक्षसहित नौ जनाको समुहले कोरोनाको जोखिममा एम्बुलेन्स खरिद गर्ने उद्देश्यले देउसी खेलेर ४ लाख रुपैयाँ संकलन गरेको उनले बताए । एम्बुलेन्स खरिदका लागि देउसी खेलेर संकलन गरेको ४ लाख, टोलविकाशबाट संकलन गरिएको ८ लाख र वडाबाट १ लाख ५० हजार गरि १३ लाख ५० हजार संकलन भएको र एम्बुलेन्स खरिद प्रकृया अगाडि बढाइएको अध्यक्षले बताए ।