बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले बिहीबार बजार अनुगमन गरेको छ । अहिले कोरोना भाइरसको महामारी चलिरहेको अवस्थामा बजारमा मूल्य वृद्धि गरेर विक्री गरेको भन्दै नगरले ११ व्यवसायलाई कारबाही गरेको हो ।
खाद्यान्न, मास्क, सेनिटाइजर लगायत अत्ति आवश्यक सामाग्रीको अत्यधिक मुल्य वृद्धि गरेर बेचेको जन गुनासो नगरपालिकामा आउन थालेपछि नगरपालिकाले नगरको विभिन्न वडाहरुमा कडा रुपले अनुगमन गरेको बराहक्षेत्र नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनुकुमार लिम्बूले बताए ।
लिम्बुका अनुसार बिहीबार गरेको अनुगमनमा किराना पसल र मेडिकल गरि ११ वटा लाई कारबाही गरिहएको हो । जसमा बाङ्गे बजारका २ वटा किराना पसल र एउटा मेडिकल, नडाहा बजारका ३ वटा किराना पसल, कालाबन्जारका २ वटा मेडिकल र ३ वटा किराना पसललाई मुल्य वृद्धि गरेर बेचबिखन गरेको पाएपछि उनिहरुलाई कारबाही गरिएको हो लिम्बुको भनाइ छ ।
अनुगमन टोलिनै ग्राहक बनेर अति आवश्यक सामाग्री चिनी, तेल, दाल, साबुन, नुन, मास्क, सेनिटाइजर लगायतका सामाग्री खरिद गर्दा उनीहरुले बढी मूल्यमा बिक्री गरेको पाइएको र उनीहरुसँग खरिद बिल माग्दा समेत दिन नसकेपछि जनही न्युनतम ५ हजार जरिवानासहित कारबाही गरेको लिम्बुले बताए ।
उनीहरुले खाने तेल लिटरको २ सय ८०, दाल प्रति केजी १ सय ४० रुपैयाँ, मास्क प्रति गोटा १० रुपैयाँ, र सेनिटाइजरलगायतका सामानकाे मूल्य समेत बजार मूल्यभन्दा निकै बढीमा बिक्रि गरेकाे पाइएकाे थियाे ।
यस्तो विषम परिस्थितिमा देश कोरोना भाइरसको मार खेप्दै आएको बेला यसरी मूल्य वृद्धि गरेर उपभोक्ताहरुलाई मारमा नपार्न लिम्बुले व्यवसायीसँग आग्रह समेत गरे ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत लिम्बुको नेतृत्वमा भएको बजार अनुगमनमा नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, इलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशी, उद्योग वाणिज्य संघ बराहक्षेत्र प्रतिनिधि तुलसी श्रेष्ठ, नडाहा प्रहरी चौकाका डम्बरबहादुर गौतम, इलाका प्रहरीका गंगाबहादुर माझी, पत्रकार लगायत समेत थिए ।
अनुगमनमा कारबाहीमा परेका व्यवसाय सञ्चालकलाई लकडाउन खुला भएपछी नगरपालिकामै गएर जनही ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
भुलसुधार : समाचारमा अत्तिआवश्यक सामाग्रीमा केही अन्य सामाग्रीको नाम समेत समावेश हुन गएकोमा सच्याइएको जानकारी गराउँदछौं ।