सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोगको प्रतिक्रिया पर्खिरहेको र सोमबार प्राप्त पत्रको आधारमा बाँकी मतगणना गर्न निर्देशन प्राप्त भएको
निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । ‘आयोगको जवाफ हामीले पर्खिरहेका थियौं, आज प्राप्त भयो’ उनले भने, ‘कानुनतः मतगणनालाई निरन्तरता दिनु भन्ने निर्देशन प्राप्त भएको छ ।’ उनले मंगलबार बिहान सर्वदलीय बैठक बसेर बाँकी मत गणना गर्ने उनले बताए ।
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले ६०६ मत नेकपा एमालेकोमा थप गरेर घोषणा गरेपछि नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले मतगणना रोक्न निवेदन दिएका थिए । त्यसपछि शनिबार बसेको सर्वदलीय बैठकमा दुबै पक्षको फरकमाग भएपछि सहमती हुन सकेन । सोही बैठकमा निर्वाचन अधिकृतले गल्ती स्वीकार गरेका थिए । पुनः आइतबार बसेको सर्वदलीय बैठकले समेत निश्कर्ष निकाल्न नसकेपछि कार्कीले र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि गणना गर्न निर्वाचन कार्यालयमा निवेदन दिएका थिए ।
आयोगबाट आउने प्रतिक्रियाको आधारमा अगाडि बढ्ने गरी सो निवेदन निर्वाचन आयोगमा पठाइएको थियो ।