देशमा प्रजातन्त्र आएपछि मोटाघाटा सुकिला मुकिला चिल्लाचिल्ला गाडी चढ्नेहरुको पार्टीभित्र हाबी हुनेछ । त्यस्का विरुद्ध आम कार्यकर्ताले एक पटक संघर्ष गर्नुपर्ने हुन्छ । – विपी कोइराला
विपि कोइराला दूरदर्शी थिए । उनले एक शताब्दीको त्यही समयमा परिकल्पना गरेका थिए । राष्ट्रियताका सवालमा कोइरालाले सगरमाथा चीनमा पर्छ भनेर भन्ने विवादास्पद कुरा सगरमाथा नेपालमा पर्छ भनेर संसदमा आवाज उठाउने कोइराला हुन् । नेपाली राजनीतिक इतिहासमा कोइराला परिवारको देन बिर्सनु नेपाल आमामाथी अन्याय गर्नु वा सो सरह हो ।
मुलुकमा लोकतन्त्र प्राप्ति गर्न, जहानिया राणा शासनको अन्त्य गर्न देश परदेशबाट सिङ्गो परिवार आन्दोलनमा होमिनु सहज थिएन । प्रथम जन निर्वाचित कोइराला कहिल्यै भौतिक सुख र व्यक्तिगत आलिसानमा रमाउन चाहेनन् । विपि नेपाली कांग्रेसका मात्र नेता होइनन्, सिङ्गो मुलुकको नेता तथा समाजवादका प्रणेता समेत हुन् । प्रवासमा आफै कठोर जीवन बिताइरहेका विपिले धेरैलाई सहारा दिएका थिए । अब स्पष्ट भन्न सकिन्छ कि कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनको एकजना विशिष्ट धरोहर हुन् । प्रजातान्त्रिक चेतनाको बिजारोपण, बिस्तार र आधरसिलामा उनको अमुक भूमिका छ । कोइरालाको समाजवाद र व्यक्तिगत चिन्तन आज पनि विश्वमा अनुभुत गर्न सकिन्छ ।
यहि आदर्श र इतिहास बोकेको पाटी जो नेपाली काङ्ग्रेस हो । मुलुकको हरेक परिवर्तनमा काङ्ग्रेसीहरुको रगत बगेको छ । यसको जस र अपजस दुबै काङ्ग्रेसले लिनु पर्दछ । राणाहरुसँग लडेर आएको काङ्ग्रेस अलमलमा पर्नु सारा ३ करोड नेपाली जनतामाथी कुठाराघात गर्नु सिवाय केही छैन । राष्ट्रियताका सवालमा थुप्रै प्रश्न चिह्न खडा भइरहेका छन् । जातीयता, भूगोल, भाषा, धर्म, संस्कृतिलाई मुल मुद्दा बनाएर राजनीतिको पगरी गुथ्ने फ्रु थुप्रै छन् । यसमा काङ्ग्रेसको स्पष्ट इतिहास र धारणा छ र अझ हुन जरुरी छ ।
हिमाल, पहाड, तराई कोहि छैन पराई, देश काठमाडौंमा बसेर टोपी लगाउने अनि मधेसमा धोती लगाउनेको पनि हो । काङ्ग्रेसका लागि जलेश्वर र बानेश्वर एउटै हो । पहाडको कन्दरामा भीमनारायण श्रेष्ठले गोलि खाँदै गर्दा तराईका दुर्गानन्द झा फाँसीमा झुन्डिएका थिए । किसुन जि, गणेशमान सिंहसग महेन्द्र नारायण पनि हिँडेका थिए । काठमाडौको नेवारी संस्कृति, जनकपुरको मधेसी संस्कृति, पहाडको ब्राह्मण संस्कृति र हिमालको राई लिम्बु संस्कृतिको साझा घर हो काङ्ग्रेस ।
त्यसकारण मुलुकको परिवर्तनमा र देशको बिकृती रोक्नको लागि काङ्ग्रेस जुर्मुराउने बेला आएको छ ।
अबको कांग्रेस : शान्ति स्थापना र संविधान निर्माणको नेतृत्व
मधेस र पहाडलाईसँगै लिएर हिँड्न सकेको नेतृत्व काङ्ग्रेस मात्र हो । यो सत्कर्मलाई काङ्ग्रेसले जनतालाई बुझाउन सक्नुपर्छ । यो छातीमा हात राखेर भन्नुपर्छ, विगतमा सरकारको नेतृत्व काङ्ग्रेसले गर्दैगर्दा केही त्रुटि भएका हुन् । यसको आत्मआलोचना गरेर अगाडि बढ्न सक्नुपर्छ ।
मानवीय कमजोरीलाई बढ्न नदिने सबैभन्दा उत्तम उपाय लोकतन्त्र हो । लोकतन्त्रमा मानिसमा मानवीय कमजोरी हरु हुन्छन् । तिनलाई विभिन्न माध्यमद्वारा रोकेर सकारात्मक पक्षमा लाग्नु पर्दछ भन्ने विश्वास लिएको हुन्छ । यसलाई यसरी पनि विश्लेषण गर्न सकिन्छ, काङ्ग्रेसले लोकतन्त्रलाई मान्दछ र यस्को मतलब यो हो कि दलले पनि गल्ती गर्न सक्दछ र गल्ति गरेमा जनताले मूल्यांकन गरेर सजाय दिनेछन् ।
काङ्ग्रेसको महाधिवेशनको चटारो सुरु भइसकेको छ । गाउँ गाउँमा नेता कार्यकर्ता भेटघाट, लबिङ, गुटउपगुट सुरु भइसकेका छन् । गुट बनाउनु स्वाभाविक हो तर, गुट प्रतिपक्षमा लडोस् । आफैमा लड्ने गुटको अर्थ अनिष्ट हुन पुग्दछ । वास्तविक नेता अब नेतृत्वमा आएर लोकतन्त्र र न्यायको पक्षमा वकालत गर्न काङ्ग्रेसले ढिला गर्न हुन्न ।
जनताको दुःखमा मलमपट्टि लगाउन अब काङ्ग्रेसले काङ्ग्रेसको पक्षमा होइन देश र जनताको पक्षमा एक पटक साहस गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्दछ । विपिको समाजवादको पथमा हिँडेको काङ्ग्रेस आन्तरिक खिच्चातानीमा अलमलिनु भनेको लोकतन्त्र धरापमा पर्नु हो । काङ्ग्रेसको अबको महाधिवेशनमा बोकेर ल्याउने र पहुँचवालाको अन्त्य हुँदै सफल र रचनात्मक नेतृत्व आउन जरुरी छ जुन काङ्ग्रेसी कार्यकर्ताले बेलैमा ध्यान दिनु आवश्यक छ ।







