सुनसरी । मुटुको शल्यक्रिया गरेर थलिएका बराहक्षेत्र ७ जंगिचौककी १८ वर्षिया गोमा कार्कीलाई लगत्तै फोक्सोको रोग देखिएपछि चक्रघट्टीका युवाहरुले उपचारका लागि ७२ हजार रुपया आर्थिक सहयोग प्रदान गरेका छन् ।
वैदेशिक रोजगारीमा कोरियामा कार्यरत साबिक महेन्द्रनगर गाविस चक्रघट्टीका युवाहरुले उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् । सहयोग दाताहरु घनश्याम घिमिरे, एलन राई, गौरब डोटेल, गोपाल बजगाई, अमर परियारको व्यक्तिगत र उनीहरुको पहलमा रकम संकलन गरिएको हो ।
व्यक्तिगत रुपमा तीन हजार ५ सय रुपयाँ सहयोग गरेरका पिताम्बर राई सहितका टोलीले बिहीबार कुल ७२ हजार रुपयाँ बिरामी स्वयंलाईलाई हस्तान्तरण गरिएको हो ।
मुटु रोगी कार्कीको वर्षदिन अघि गंगालाल अस्पताल काठमाडौं मुटुको शल्यक्रिया गरिएका थियो । मुटुको रोग पूर्णरुपमा निको नभएको अवस्थामा पूनः उनको फोक्सोमा पानी जमेर समस्यामा परेपछि अस्पताल भर्ना भएकी हुन् ।
चिकित्सकहरुले शल्यक्रिया गरेर फोक्सोको पानी निकाल्नु पर्ने भनेकाले कार्की अहिले उपचारको पर्खाइमा छिन् । मुटुको शल्यक्रिया गरेको ऋृण तिरि नसक्दै फोक्सोमा समस्या भएपछि उपचारको लागि आर्थिक समस्या आइपरेको थियो । उनको उपचारका लागि आर्थिक समस्या परेको खबर गाउँबाट कोरियामा कार्यरत युवाहरुसम्म पुगेपछि उनीहरुले रकम संकलन गरी पठाएका हुन् ।
यसअघि मुटुको उपचार गर्ने क्रममा ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । परिवारका अनुसार फोक्सोको समस्याको उपचार गर्न करिब ४ लाख जति खर्च लाग्ने चिकित्सकहरुले बताएपछि आर्थिक समस्या भएको हो ।