सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करणको सोमबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब काठमाडौं विजयी भएको छ ।
बेलबारी फुटबल क्लब मोरङलाई ४० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब बिजयी भएको हो । बेलबारीलाई जितेसँगै मनाङ मर्स्याङ्दी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको २४औं मिनेटमा मनाङका निशान लिम्बूले गोल गर्दै खेलमा पहिलो खाता खोलेका थिए । त्यस्तै खेलको ४४औं मिनेटमा बिमल रानाले हेड गर्दै गोल गरेका थिए ।
खेलको ५२औं मिनेटमा दयानन्द सिंहले गोल गरे । खेलको ६७औं मिनेटमा फ्रिकिकलाई मनाङ मर्स्याङ्दीका दयानन्द सिंहले थप गोल गरे । उनको यो गोल नै अन्तिम गोल बन्न पुग्यो ।
उक्त खेलमा उत्कृष्ट गोल गरेको भन्दै मनाङका निशान लिम्बुले नगदसहित ५ हजार पाए । उक्त खेलको म्याच अफद म्याच मनाङका दयानन्द सिंह घोषित भए । उनले १५ हजार रुपैयाँसहित मेडल पाए ।
प्रतियोगिताको उपाधि जित्ने टिमले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ५ लाख रुपैयाँ पाउने छ ।







