बराहक्षेत्र । बराहक्षेत्रमा पछिल्लो केहि समययता विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको द पुलहा युथ क्लबले प्रथम वडास्तरीय मेयर कप नकआउट भलिबल प्रतियोगिता गर्ने भएको छ ।
बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगिता यहि फाल्गुन २० देखि २४गतेसम्म संचालन हुने आयोजक क्लबका अध्यक्ष दिवानसिंह राइले जानकारी दिए । उनका अनुसार क्लबको मैदान बराहक्षेत्र ८, पुलहामा हुने खेलमा बराहक्षेत्रका ११ वडा आमन्त्रित छन् ।
यद्यपि खेलमा १,३,४,५,७,८,९,१० सहित आयोजक गरी ९ टिमको सहभागिता रहनेछ । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन र प्रभावकारी बनाउने उद्देश्यले हुन लागेको प्रतियोगितामा बराहक्षेत्र बाहेकका खेलाडी समावेश गर्न नपाइने अध्यक्ष राई बताउँछन् ।
अन्य सम्पुर्ण तयारी सकिएको प्रतियोगिताका लागि अहिले आफूहरु आर्थिक सहयोग जुटाउने क्रममा रहेकोे सचिव रुपक बिष्टले बताए । ‘अहिले देश तथा विदेशमा छरिएर रहेका स्थानीय खेलप्रेमीहरुले सहयोग गरिरहनुभएको छ र सहयोगको क्रम अझै बढ्नेमा आयोजक आशावादी छ,’ बिस्टले भनें ।
स्थापनाकालदेखिनै सक्रिय रहेको क्लबले यसपटक भने फरक तवरले भलिबल प्रतियोगिता गर्न लागेको र हर्षोल्लाहसका साथ सहयोगको क्रम पनि जुटिरहेको क्लबका अगुवा राजेन्द्र खड्काले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमले क्रमशः २५ हजार र १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । उनका अनुसार २२ गते सेमिफाइनलका खेल र २४ गते सोमबार फाइनल खेल हुनेछ ।