धरान । धरानमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाइने भएको छ ।
उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धरानका केही स्थान तथा तरकारी पसलहरुमा मानिसहरुको भिडभाड बढी देखिएको भन्दै स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न गत भदौ ३ गतेको निर्णय अनुसार कार्यन्वयन भयो कि भएन भनी समिक्षा गर्दा धरान उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, प्रहरी तथा प्रशासन कार्यालयको संयूक्त रुपमा अनुगमन गर्न निस्किएको र केही हदसम्म यसको कार्यान्वयन भएको पाइएको छ । बैठकमा मेयर राईले धरानमा कोरोना संक्रमणदर घटेको अवस्था नरहेको बताए ।
धरानको १३ वटा स्वास्थ्य केन्द्रबाट निरन्तर रुपमा एन्टिजेन परीक्षण भइरहेको, धरान ८ स्थित सभागृहमा पिसिआर परीक्षण पनि भइरहेको मेयर राईले जानकारी दिए । उनका अनुसार दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
नगरबासीहरुलाई संक्रमणबाट जोगाउन आधिकारिक रुपमा लकडाउन गर्नुपर्छ भन्ने सुझाव आइरहेको मेयर राईले बताए । लकडाउनको वैकल्पिक व्यवस्था र कार्यान्वयनको लागि यसभन्दाअघि बसेको बन्दको छलफलले सबैलाई जवाफदेहिता बनाएको मेयर राईको भनाई छ । साथै, मेयर राईले यो सातदिनको अवधिमा उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, प्रहरी तथा प्रशासन लगायतले अत्यन्तै राम्रो भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।
अनुगमनको क्रममा केही स्थान र व्यवसायमा समस्या देखिएको, तरकारी व्यवसायमा भिडभाड बढी देखिएकोले समय बढाउनुपर्ने देखिएको भनि सर्वव्यापी रुपमा समिक्षा भएको छ । बिहीबारको सर्वपक्ष्ीाय बैठकले स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउन प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने र सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने निर्णय गरेको छ ।







