बराहक्षेत्र नगरपालिकामा एक बालिकालाई शुक्रबार कोरोना पोजेटिभ देखिएसँगै नगरमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ ।
धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुट्टाको उपचार गर्दै गर्दा गरिएको परीक्षणमा बालिकालाई कोरोना पोजेटिभ भएको बराहक्षेत्र जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।
त्यसैगरी केही दिन अघि बराहक्षेत्र ७ बस्ने सशस्त्र प्रहरी बल तेह्रथुममा कार्यरत एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको घर बराहक्षेत्र भएपनि हाल तेह्रथुममा कार्यरत र सोही ठाउँमा उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैगरी भारतबाट केही दिन अघि आएका अन्य ३ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार गरिएको ३० जनाको स्वाब परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
थप ४५ जनाको स्वाब परीक्षण
बराहक्षेत्रका क्वारेन्टाइनमा रहेका थप ४५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको मेहताले बताए । उनका अनुसार सो को रिपोर्ट आइतबारसम्म आइपुग्ने छ । नगरभित्र रहेका ४ वटा क्वारेन्टाइनमा अहिले एक सय २६ जना रहेका छन् ।
महेन्द्र मा.वि. बराहक्षेत्र ३ मा ६ जना, महेन्द्र मा.वि. चक्रघट्टीमा ५० जना, प्रकाश मा.वि. प्रकाशपुरमा ५९ जना र जनता मा.वि. मधुवनमा ११ जना बस्दै आएका छन् ।